एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ :
काठमाडौंमा आत्मदाह गरेपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको स्मृतिमा जनकपुरधाममा क्यान्डल बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिका ३ स्थित जनकचोकमा रहेको जनक मन्दिर परिसरमा शुक्रबार साँझ आयोजित श्रद्धाञ्जली कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारणले क्यान्डल प्रज्वलन गर्दै दिवंगत नेपालीप्रति श्रद्धासुमन अर्पण गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मानव अधिकार विभाग, मधेश प्रदेशका सभापति डा. रोबिन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले गणेश नेपालीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।
कार्यक्रममा वक्ताहरूले गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन राज्यले नागरिकका गुनासा र समस्यालाई समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।





