एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ :
बोक्सी कुप्रथाको नाममा हुने हिंसा, विभेद तथा मानवअधिकार उल्लंघन अन्त्य गर्ने उद्देश्यले ‘नेपालबाट बोक्सी कुप्रथा उन्मूलन महाअभियान’ अन्तर्गत महोत्तरीको गौशालामा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल को आयोजनामा असार १० गतेदेखि सुरु भएको अभियान धनुषा र रौतहट हुँदै महोत्तरी पुगेको हो। अभियानअन्तर्गत बोक्सी आरोपबाट प्रभावित समुदायमा शिक्षा, जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै महोत्तरी १ का प्रतिनिधिसभा सदस्य प्रमोद महतोले बोक्सी कुप्रथालाई सभ्य समाजका लागि कलंकको संज्ञा दिए। अन्धविश्वास र कुसंस्कारका कारण अझै पनि महिलामाथि अमानवीय व्यवहार हुने गरेको उल्लेख गर्दै उनले यस्ता घटनाको अन्त्यका लागि राज्य, समाज र नागरिकको साझा प्रयास आवश्यक रहेको बताए। कुनै पनि व्यक्ति बोक्सी हुन नसक्ने भन्दै वैज्ञानिक सोच, शिक्षा र जनचेतनामार्फत मात्रै यस्तो कुप्रथाको अन्त्य सम्भव हुने उनको भनाइ थियो।

अभियानका संयोजक कोविदशरण उपाध्यायले कानुनी व्यवस्था भए पनि नेपालमा बोक्सी आरोपका घटना पूर्ण रूपमा अन्त्य हुन नसकेको बताए। विशेषगरी ग्रामीण क्षेत्रमा अज्ञानता, अन्धविश्वास, गरिबी र सामाजिक विभेदका कारण महिलाहरू अझै पनि यस्तो हिंसाको सिकार भइरहेको उनले बताए।
कार्यक्रममा बोक्सी आरोपबाट प्रताडित इतरिया देवी रामलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उनले आफूले भोगेको पीडा सुनाउँदै बोक्सीको आरोपका कारण महिलाले अझै पनि अपमान, हिंसा र सामाजिक बहिष्कार सहनुपरेको अनुभव सुनाइन्।
राष्ट्रिय महिला आयोग र इन्सेकको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा मधेस प्रदेशमा बोक्सी आरोपसँग सम्बन्धित ३५० भन्दा बढी मुद्दा दर्ता भएका छन्। अधिकांश पीडित महिला रहेको तथा अन्धविश्वास, सामाजिक विभेद र कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा यस्ता घटना दोहोरिने गरेको तथ्यांकले देखाएको छ।

प्रतिष्ठानका अनुसार अभियानअन्तर्गत स्थानीय समुदाय, महिला समूह, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया, जनचेतना सभा र छलफल कार्यक्रम सञ्चालन भइरहेको छ। अभियानमार्फत बोक्सी कुप्रथाविरुद्ध सामाजिक सचेतना अभिवृद्धि गर्दै हिंसा र विभेदमुक्त समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्य रहेको प्रतिष्ठानले जनाएको छ।