एसपी रिपोर्टर
जनकपुरधाम, असार २० :
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) जनकपुरधाम शाखाको अध्यक्षमा युवा सञ्चार उद्यमी नवीन साह सर्वसम्मत रूपमा चयन भएका छन्।
मञ्चको छैटौँ वार्षिक साधारणसभाले साहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा दीपक शर्मा, द्वितीय उपाध्यक्षमा प्रियांशु साह चयन भएका छन्। सदस्यहरूमा सुमित गुप्ता, विशाल साह, सञ्जु नायक, जयकुमार साह, शिवरतन रौनियार, निखिल साह, युवराजकुमार साह, कञ्चन गुप्ता र काजोल शर्मा रहेका छन्।
साधारणसभामा निवर्तमान अध्यक्ष राजीव रौनियारले नवनिर्वाचित अध्यक्ष साहलाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेका थिए।

पदभार ग्रहणपछि अध्यक्ष साहले युवा उद्यमशीलताको विकास, नवउद्यम प्रवर्द्धन तथा उद्यमीहरूबीच सहकार्य विस्तारलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे। संस्थाको गरिमा, मूल्य–मान्यता र उद्देश्यलाई आत्मसात् गर्दै उद्यमशीलतामार्फत समाज तथा राष्ट्रको आर्थिक समृद्धिमा योगदान पुर्याउने दिशामा आफू प्रतिबद्ध रहने उनले बताए।

छैटौँ वार्षिक साधारणसभामा मञ्चको राष्ट्रिय शासी परिषद्का अध्यक्ष सुदीप घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी, मञ्चका सल्लाहकार डा. सोनु कुमार, कानुनी सल्लाहकार अधिवक्ता सुदीप कोइराला तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका प्रतिनिधि प्रदीप दत्त विशिष्ट अतिथिका रूपमा सहभागी थिए।








