एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ :
वन संरक्षणसँगै वन्यजन्तुको संरक्षणलाई पनि समान प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
डिभिजन वन कार्यालय धनुषाले मंगलबार आयोजना गरेको वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक गोष्ठीमा सहभागीहरूले वन विनाश, चुरे क्षेत्रको बढ्दो दोहन, वन्यजन्तुको बासस्थानमा परेको असर तथा सीमित बजेटका कारण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न चुनौती रहेको औंल्याए।
डिभिजन वन कार्यालय धनुषाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत आयोजित गोष्ठीमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरी प्रमुख अतिथि थिए। कार्यक्रम चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजको सहजीकरण तथा नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले वन र वन्यजन्तु एकअर्काका परिपूरक भएकाले वन संरक्षणसँगै वन्यजन्तुको संरक्षणलाई पनि समान महत्व दिनुपर्ने बताए। वन जोगाएर मात्र दिगो वातावरण संरक्षण सम्भव नहुने उल्लेख गर्दै उनले जैविक विविधताको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
प्रदेश सरकारले वन तथा वातावरण संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उनले सीमित स्रोतसाधनका बाबजुद संरक्षण अभियानलाई निरन्तरता दिइएको जानकारी दिए। हरियो वन तथा चुरे क्षेत्र संरक्षणमा बजेट अभाव प्रमुख चुनौती रहेको उल्लेख गर्दै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर काम भइरहेको उनले बताए।
मन्त्री चौधरीले सार्वजनिक जिम्मेवारी पारदर्शी ढंगले निर्वाह गरिरहेको दाबी गर्दै सञ्चारमाध्यमलाई तथ्यका आधारमा कमजोरी औंल्याउन आग्रह गरे। सत्य र तथ्यमा आधारित पत्रकारिताले सरकारलाई थप उत्तरदायी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
अन्तरक्रियामा सहभागी वन क्षेत्रका अधिकारीहरूले चुरे संरक्षण, अवैध वन पैदावार ओसारपसार नियन्त्रण, वन अतिक्रमण रोकथाम, वन डढेलो नियन्त्रण तथा सामुदायिक वनको प्रभावकारी व्यवस्थापनका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे।
उनीहरूले वन संरक्षणसम्बन्धी नीति प्रभावकारी भए पनि बजेट, जनशक्ति र प्राविधिक स्रोतको अभावका कारण अपेक्षित उपलब्धि हासिल गर्न कठिन भइरहेको बताए। जलवायु परिवर्तनको बढ्दो प्रभावले जैविक विविधता तथा वन्यजन्तुको प्राकृतिक बासस्थानसमेत जोखिममा परेको उनीहरूको भनाइ थियो।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले वन तथा वातावरणसम्बन्धी समाचार तथ्यपरक, सन्तुलित र जिम्मेवार ढंगले सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै वन संरक्षण अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा वन कार्यालयका कर्मचारी, प्रदेश वन निर्देशनालयका प्रतिनिधि, पत्रकार, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।