एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ :
किसानका खेतमा समयमै सिँचाइ सुविधा उपलब्ध गराउन, पानीपोत रकमको पारदर्शी व्यवस्थापन सुनिश्चित गर्न तथा सिँचाइ आयोजनाको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणेशमान चारनाथ नगर कमिटीका युवाहरूले कमला सिँचाइ आयोजना, परताहामा डेलिगेसन बुझाएका छन्।
डेलिगेसन टोलीले किसानबाट उठाइने पानीपोत रकमको आय व्यय सार्वजनिक गर्न, उपभोक्ता समितिको लेखाजोखा पारदर्शी बनाउन तथा आयोजनामा विनियोजित बजेटको खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ। साथै, समयमै नहर मर्मत, बाँध तथा फाटक निर्माण, कुलो सरसफाइ, ठेक्का सम्झौताअनुसारका कामको प्रगति र किसानका खेतसम्म सिँचाइ पुगे नपुगेको अवस्थाबारे नियमित अनुगमन र छलफल आवश्यक रहेको जनाएको छ।
कमला सिँचाइ आयोजना, परताहाका कार्यालय प्रमुख रणधीरकुमार साहका अनुसार किसानबाट उठाइने प्रत्येक १०० रुपैयाँ पानीपोतमध्ये २० रुपैयाँ मात्र आयोजनाको खातामा जम्मा हुने गरेको छ। बाँकी रकम मूल नहर उपभोक्ता समिति तथा शाखा परशाखा उपभोक्ता समितिले सञ्चालन र व्यवस्थापनमा खर्च गर्ने गरेका छन्।
आयोजनाअन्तर्गत सिराहा र धनुषाका आठ स्थानीय तहका करिब ३६ हजार ५०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ। तर चालु आर्थिक वर्षमा केन्द्र सरकारले चार करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेको, जुन आवश्यकताको तुलनामा अत्यन्तै अपुग रहेको मूल नहर उपभोक्ता समितिका अध्यक्ष श्यामबाबु यादवले बताए।
उनका अनुसार नहर मर्मत, सरसफाइ, बाँध तथा अन्य संरचना निर्माण गरी किसानका खेतसम्म प्रभावकारी रूपमा पानी पुर्याउन वार्षिक कम्तीमा २० करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक छ। शाखा तथा परशाखा समितिबाट उठाइने पानीपोत रकम पनि न्यून रहेको उल्लेख गर्दै उनले किसानले प्रति कठ्ठा १० रुपैयाँ र नवीकरण शुल्क २५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था भए पनि आर्थिक कठिनाइका कारण धेरैले समयमै शुल्क तिर्न नसक्दा बक्यौता बढ्दै गएको बताए।
कार्यक्रमका क्रममा आयोजनाका अधिकारीहरूले मधेश प्रदेशको दीर्घकालीन सिँचाइ समाधानका रूपमा प्रस्तावित सुनकोसी डाइभर्सन आयोजना शीघ्र कार्यान्वयनका लागि केन्द्र सरकारसँग पहल गरिदिन आग्रह गरेका छन्। उक्त आयोजनाअन्तर्गत बागमती, कमला र बलान नदीलाई समेटेर ड्याम तथा नहर निर्माणमार्फत मधेशका विस्तृत भूभागमा सिँचाइ सुविधा विस्तार गर्ने योजना रहेको जनाइएको छ।
रास्वपा गणेशमान चारनाथ नगरपालिकाका राकेश यादव, बाली शर्मा, महादेव यादव, अर्जुन यादव, सूर्यनाथ यादव, विष्णुदेव महतो र विनोद महरालगायत युवाहरूको नेतृत्वमा गएको डेलिगेसनले किसानको सिँचाइ अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेको छ। समस्या समाधानमा गम्भीरता नदेखाइए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत टोलीले दिएको छ।





