एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ :
वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकहरूको सीप, अनुभव र क्षमतालाई स्वदेशमै उपयोग गर्दै पुनःएकीकरण र रोजगारीका अवसर विस्तार गर्न निजी क्षेत्रको आवश्यकता अनुरूप सीप विकास कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
नेपाल उद्योग वाणिज्य संघ मधेसद्वारा आयोजित ‘वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया’ कार्यक्रममा सहभागीहरूले नेपालमा दक्ष जनशक्तिको अभावका कारण उद्योग तथा व्यवसाय सञ्चालनमा चुनौती थपिएको बताएका छन्। संघका कार्यकारी निर्देशक प्रदीप कर्णले निजी क्षेत्रले आवश्यक सीप भएका जनशक्ति सहज रूपमा पाउन नसकेको बताए।
कार्यक्रममा उद्योगी तथा व्यवसायीहरूले वैदेशिक रोजगारीका क्रममा आर्जित सीप र अनुभवको प्रभावकारी उपयोग गर्न सके स्वदेशमै रोजगारी सिर्जना हुनुका साथै उद्योग तथा उत्पादनशील क्षेत्रले दक्ष जनशक्ति प्राप्त गर्ने विश्वास व्यक्त गरे।

छलफलका क्रममा अधिकांश फर्किएका श्रमिकले आफ्नो योग्यता र अनुभवअनुसारको रोजगारी नपाउँदा पुनः वैदेशिक रोजगारीमा जान बाध्य हुने अवस्था रहेको औँल्याइयो। श्रम बजारसँग पर्याप्त समन्वयको अभाव, रोजगारदाता र श्रमिकबीच विश्वासको कमी तथा सीप पहिचान र प्रमाणीकरणको प्रभावकारी व्यवस्था नहुनु मुख्य समस्याका रूपमा प्रस्तुत गरिएको थियो।
सहभागीहरूले श्रमिक र रोजगारदाताबीच पारदर्शी श्रम सम्बन्ध विकास गर्न, सीप प्रमाणीकरण प्रणालीलाई प्रभावकारी बनाउन, रोजगार सूचना प्रणाली सुदृढ गर्न तथा नियमित समन्वय संयन्त्र निर्माण गर्न सुझाव दिएका थिए।
मधेस प्रदेशको श्रम तथा रोजगार मन्त्रालयका वरिष्ठ उपसचिव धनञ्जय सिंहले प्रदेश सरकारले मागमा आधारित सीप विकास तथा रोजगारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार आगामी आर्थिक वर्षदेखि निजी क्षेत्रको आवश्यकता र श्रम बजारको मागका आधारमा कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा रेमिट्यान्सको अधिकांश रकम उपभोगमै खर्च हुने र करिब २.८ प्रतिशत मात्र उत्पादनमूलक क्षेत्रमा लगानी हुने तथ्य प्रस्तुत गर्दै कृषि, उद्योग, उद्यमशीलता तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी बढाउन नीतिगत पहल आवश्यक रहेकोमा पनि जोड दिइयो।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुखीपुर उद्योग व्यापार समितिका अध्यक्ष सूर्यनारायण यादव, नेपाल उद्योग वाणिज्य संघ मधेसका कार्यकारिणी सदस्य प्रदीप भट्टराईलगायतले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःस्थापना, सीप उपयोग र उद्यम प्रवर्द्धनका विषयमा आ–आफ्ना धारणा राखेका थिए।





