एसपी रिपोर्टर
जनकपुरधाम, असार ६ :
व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न भएको छ। समितिका अध्यक्ष चन्देश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित महाधिवेशनमा संस्थाको सांगठनिक गतिविधि, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।
महाधिवेशनमा महासचिव लक्ष्मणप्रसाद साहले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विगतमा सञ्चालन गरेका सामाजिक, शैक्षिक तथा सामुदायिक गतिविधिबारे जानकारी गराए। उनले समाजको एकता, संस्थागत सुदृढीकरण तथा युवा सहभागिता अभिवृद्धिका लागि समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

त्यसैगरी, कोषाध्यक्षले संस्थाको आय–व्यय विवरण प्रस्तुत गर्दै आर्थिक पारदर्शिता र सुशासनप्रति समिति प्रतिबद्ध रहेको उल्लेख गरे।
उद्घाटन सत्रका प्रमुख अतिथि व्याहुत सुडी समाजका वरिष्ठ सदस्य जगदेव साहले समाजको उत्थान र संस्थागत विकासका लागि सबै सदस्य एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले शिक्षा, सामाजिक सद्भाव तथा युवा नेतृत्व विकासलाई प्राथमिकतामा राख्न आग्रह गरे।
कार्यक्रममा भोला प्रसाद साह, उमाशंकर प्रसाद साह, रामपल्टन साह, अमरनाथ गुप्ता, श्यामप्रसाद गुप्ता लगायत समाजका अगुवा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले व्याहुत सुडी समाजको सामाजिक तथा सांस्कृतिक पहिचान संरक्षणसँगै समाजसेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे।

महाधिवेशनले संस्थाको प्रगति समीक्षा गर्दै आगामी कार्यकालका लागि विभिन्न योजना तथा कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। सहभागीहरूले समाजको हित तथा समुदायको समग्र विकासका लागि समिति अझ सक्रिय रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।