एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ :
मानव अधिकार संस्कृतिको विकासमा नागरिक समाज र युवाहरूको भूमिकाबारे जनकपुरधाममा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकारका लागि महिला एकल महिला समूह धनुषाको आयोजनामा भएको कार्यक्रममा ‘मानव अधिकार संस्कृतिको विकासमा नागरिक समाज र युवाहरूको भूमिका’ विषयमा विस्तृत छलफल गरिएको हो।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले परोपकारी भावनाबिना मानव अधिकारको संरक्षण सम्भव नहुने बताए। उनले आफ्नै धर्म, संस्कृति र सामाजिक मूल्यभित्र रहेर एकअर्काको मानव अधिकारको सम्मान तथा संरक्षण गर्ने उपाय खोज्नुपर्ने आवश्यकता औंल्याए। युवाहरूमा परोपकारी भावना र सामाजिक उत्तरदायित्वको विकास गर्न सके मानव अधिकारको संरक्षणसँगै सभ्य समाज निर्माण गर्न सहज हुने उनको भनाइ थियो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले नैतिक शिक्षाको विकास घरपरिवारबाटै सुरु हुनुपर्नेमा जोड दिए। उनले मानव अधिकारको संरक्षण अधिकारको उपयोगसँगै कर्तव्यको पालनासँग पनि जोडिएको बताए। संविधानले नागरिकलाई अधिकार मात्र नभई कर्तव्यसमेत दिएको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारीप्रति सचेत हुन सबैलाई आग्रह गरे।
कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, युवा, मानव अधिकारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मानव अधिकारमैत्री समाज निर्माणका लागि नागरिक सचेतना, युवाको सक्रिय सहभागिता र सामाजिक उत्तरदायित्व अभिवृद्धिको आवश्यकता औंल्याइएको थियो।





