एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १३ :
नेपाल भारत मैत्री युवा संघले मटिहानीमा आगलागीबाट पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । संघले मटिहानी ६स्थित जरलहवा वस्तीका आगलागीबाट पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।
नेपाल भारत मैत्री युवा संघका अध्यक्ष एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको अगुवाईमा पुगेका युवाहरुको टोलीले राहत सामाग्री वितरण गरेको हो । राहतमा त्रीपाल, भाडा वर्तन, चामल, दाल लगायतका सामाग्री रहेको थियो । मटिहानीको जरलहवा वस्तीको पीडामा सके जति मलहम लगाउने उद्देश्यले महिटानीका नगरप्रमुख हरिप्रसाद मण्डल तथा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको समन्वयमा आफै राहत सामाग्री वितरणका लागि आई पुगेको नेता यादवले बताए ।
उनले पीडामा रहेको यस वस्तीका स्थानीयका बारेमा अहिले सम्म प्रदेश तथा केन्द्र सरकार मौन बस्नु दुःखद रहेको भन्दै गुनासो गरे । उनले भने ‘आगलागीबाट सयौँ घर जलेर नष्ट भएका छन्, आगालागी भएको एक दिन भई सक्यो तर प्रदेश तथा संघ सरकार बेखबर भएर बस्नु दुःखद कुरा हो ।’ आफूहरु यस विषयमा सरकारलाई घचघचाउने उनको भनाई थियो । सो अवसरमा काङ्ग्रेस मधेश प्रदेश सदस्य जिबनाथ चौधरी, नेताहरु रामचन्द्र तिवारी, कृष्णा सिंह, बजरंग यादव, पंकज महतो सहितको उपस्थिती थियो ।