एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ : नेपाल सद्भावना पाटीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुतला दहन गरेको छ । मधेशवादका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको पुण्यतिथिमा मधेशमा सार्वजनिक विदा नदिएको भन्दै नेपाल सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरूले मंगलबार मुख्यमन्त्री राउतको पुतला दहन गरेका हुन् । विभिन्न स्थानबाट जुलुससहित जनक चौक पुगेका उनीहरूले मुख्यमन्त्री राउतविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका छन् ।
मधेशमा रहेका नागरिकता समस्या, भाषिक र सांस्कृतिक समस्या, जनसंख्याका आधारमा आरक्षणको संवैधानिक व्यवस्था, संघीयतालगायत माग राखेर मधेश र मधेशीका लागि संघर्ष गरेका महापुरुष स्वर्गीय सिंहको पुण्यतिथिमा मधेश प्रदेशमा सार्वजनिक विदा हुनुपर्ने उनीहरूको तर्क छ । आफूहरूले स्वर्गीय सिंहको स्मृति दिवसमा सार्वजनिक विदाका लागि मुख्यमन्त्री राउतलाई अनुरोध गर्दै ज्ञापनपत्र बुझाए पनि कुनै वास्ता नगरेको नेसपाको भ्रातृ संगठन युवा मञ्चका मधेश अध्यक्ष राजकुमार चौधरीले गुनासो गर्नुभयो ।
मधेश सरकारले स्वर्गीय सिंहको सम्मानमा हरेक वर्ष स्मृति दिवसमा सार्वजनिक विदा दिनुपर्ने उनीहरूको जिकिर छ । स्वर्गीय सिंहको माघ १० गते सोमबार २० औं स्मृति दिवस मनाइएको थियो । विभिन्न दलले यस दिन स्मृति दिवस मनाउँदै आएका छन् । मधेशवादको आधुनिक प्रवर्तक भनेर चिनने स्वर्गीय नेता सिंहको २०५८ माघ १० गते निधन भएको थियो ।