एसपी रिपोर्टर
जनकपुरधाम, चैत ५ :
जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित वडा कार्यालयमा लगाईएको ताला तोडिएको छ । वडा अध्यक्ष रामेश्वर महासेठले आफुहरुलाई कुनै पनि जानकारी र सुचना नदिई पुर्वाग्राही रुपमा ताला लगाइएकाले तोडिएको बताएका छन् । विकास र्हेन नचाहने र विभिन्न वाहानामा विवाद निकालेर विकास रोक्ने तत्वहरु वडा सदस्यहरुलाई उचाल्ने काम गरेको उनले बताए ।

सेवाग्राहीहरुलाई सास्ती भएकाले जनताकै सहभागितामा ताला तोडिएको स्थानियवासीहरुले बताए । यस अघि जनप्रतिनिधिहरुले नै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । वडाध्यक्ष रामेश्वर महासेठको काम कारवाहीप्रति असन्तुष्टी जनाउँदै बुधवार तीन सदस्यले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

वडा सदस्यहरु महेन्द्र महतो, बैद्यनाथ पण्डित र ककुन्ती देवी महराले स्थानीय नागरिककको सहयोगमा कार्यालयमा तालाबन्दी गरे । वडा सदस्य महतोले हरहिसाब सार्वजनिक नगरेको, योजना छनौटमा मनोमानी गरेको र सडक निर्माणमा काखापाखा गरेको आरोप लगाए । पटक पटक हरहिसाब सार्वजनिक गर्न र सडक निर्माण नक्सा अनुसार गर्न भनेपनि वडाध्यक्षले वेवास्ता गरेको उनको भनाई छ ।