एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २१ : विशेष अदालतमा आरोप पत्र दायर भएपछि निलम्बनमा परेका जनकपुरधाम उपमहानगरपालिका वडा नं.१३ का वडाध्यक्ष शुभनारायण मण्डलको ठाउँमा कार्यवाहक तोकिएकी त्यहि वडाकी वडा सदस्य भारती सिंह आफनो जिम्मेवारी सम्हालेकी छिन् ।
कार्यवाहक वडाध्यक्ष सिंहले आज (आइतबार) पदभार ग्रहण गरेकी छिन् । तत्कालिन एमालेवाट वडाध्यक्षमा निर्वाचित मण्डल अख्तियारको कारवाहीको सिलसिलामा निलम्वनमा परेपछि उपमहानगरपालिकाले वडा सदस्य सिंहलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकेको हो ।
पदभार ग्रहण गर्दै कार्यवाहक वडाध्यक्ष सिंहले विगत दुई महिनादेखि वडा नम्बर(१३ जनप्रतिनिधिविहिन भएको अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले आफुलाई दिएको जिम्मेवारी इमान्दारिताका साथ वहन गर्ने दावी गरिन् । उनले भनिन्, ‘यस वडाका जनताहरुको भावना र बुद्धिजिवीहरुको मार्गनिर्देशन अनुसार म अगाडी बढनेछु । मलाई सबैको सहयोगको आवश्यकता छ ।’

गत असोज १५ गते वडा नं. १३ का कार्यालय सहयोगी दिलिप कुमार पञ्जियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए वापत सेवाग्राहीसँग २४ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा वडाध्यक्ष मण्डल र कार्यालय सहयोगी पञ्जियारको मिलोमतोमा सेवाग्राहीको नागरिकता बनाउन वडाबाट सिफारिस पत्र दिने प्रयोजनको लागि वडाध्यक्षले भनेअनुसार नै पञ्जियारले घुस रकम बार्गेनिङ गरी घुस लिएको तथ्य प्रमाण सहित पुष्टि भएकोले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले दुवैजनालाई जनही २४ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको थियो ।