फाल्गुन २२ गते ।
जनकपुरधाम : प्रदेश २ सरकारले सबै प्रादेशिक निर्वाचन क्षेत्रमा प्राविधिक विद्यालय सञ्चालन गर्ने प्रक्रियालाई तीव्रता दिएको छ । प्रदेश २ शिक्षा विकास निर्देशनालयले आज जनकपुरधाम गरेको कार्यक्रम यसबारे जानकारी दिइएको हो ।
प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा प्राविधिक विद्यालय सञ्चालनका लागि यस आर्थिक वर्षमा २५–२५ लाख रूपैयाँ बजेट विनियोजनसमेत गरिसकेको छ । यो योजनालाई अगाडि बढाउन प्राविधिक विद्यालयका लागि छनौट भएका सामुदायिक विद्यालयहरूमा प्राविधिकधारका विषयहरू सञ्चालन गर्ने विषयमा प्रधानाध्यापकहरूसँग अन्तरक्र्रिया गरिएको छ ।
कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताउनुभयो । मन्त्री साहले व्यक्ति सिपयुक्त भए उनीहरूलाई जीवन निर्वाहमा कुनै समस्या नहुने पनि बताउनुभयो ।
उहाँले हरेक व्यक्ति हरेक सिपको अवधारणा प्रदेश सरकारले लिएको भन्दै यसका लागि सबैको सहयोग हुनुपर्ने पनि बताउनुभयो । कार्यक्रममा प्रदेश २ शिक्षा विकास निर्देशनालयका निर्देशक चूँडामणि फुयालले प्रदेश २ मा रोजगारीको समस्या रहेको भन्दै शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो ।
प्रदेश २ सरकारले हालसम्म ८ वटा प्राविधिक विद्यालय सञ्चालनमा ल्याइएको छ । अन्य ५६ वटा प्राविधिक विद्यालय निर्माणको तयारी थालेको छ । जसमध्ये केही सामुदायिक विद्यालयले प्राविधिक विद्यालयका रूपमा रूपान्तरण गरिनेछ भने केही नयाँ विद्यालयसमेत स्थापना गर्ने लक्ष्य छ । यही लक्ष्य प्राप्तिका लागि प्रधानाध्यापकहरूलाई अभिमुखीकरण गरिएको हो ।