जनकपुरधाम : फागुन २१, २०७६
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले युवालाई सीपसहितको रोजगारी दिनु आजको प्रमुख आवश्यकता भएको बताएका छन्। युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा जनकपुरमा आयोजित स्वरोजगार कर्जासम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले युवालाई सीपसहितको रोजगारी दिनुपर्नेमा जोड दिएका हुन्।
मानव संशाधन ठूलो शक्ति भए पनि मुलुकले अहिलेसम्म परिचालन गर्न नसकेकोमा दुस्ख ब्यक्त गरे। उनले भने, ‘युवालाई परिचालन गर्न नसकेकै कारण मुलुक गरिब भएको छ। युवालाई सीपसहितको रोजगारी दिन नसकिए मुलुक समृद्धि बन्न सक्दैन।’ युवालाई सीपयुक्त बनाउन प्रदेश सरकार प्राविधिक विश्व विद्यालयको अवधारणालाई अघि बढाएको उनको भनाई छ। मुख्यमन्त्री राउतले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको लक्ष्य लिएको समेत बताए।
स्वारोजगारको नाउमा उपलब्ध गराउने ऋणमा रहेको झन्झटिलो प्रक्रियाले लक्षित वर्गले सुविधा प्राप्त गर्न नसकेको समेत उनले टिप्पणी गरे। स्वरोजगारको लागि दिइने कर्जाको प्रक्रिया सहज गर्न कोषलाई उनले सुझाव दिए। युवालाई रोजगारी दिन प्रदेश सरकारले सीप परियोजनासँग सम्झौता गरेको पनि बताए।
मुख्यमन्त्री राउतले कोषलाई समेत उक्त कार्यक्रममा सहकार्य गर्न आग्रह गरे। कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव रामकृष्ण सुवेदी, युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रबैंक जनकपुरका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो। साभार: थाहाखबर