एसपी रिपोर्टर
जनकपुरधाम,साउन १५ : अबिरल बर्षाका कारण धनुषा र सिरहाको बीचमा रहेको कमला नदीमा बहाब उच्च हुँदै जाँदा स्थानीय जनप्रतिनीधि र प्रशासन तथा सुरक्षा निकाय सक्रिय भएका छन् । सोही क्रममा धनुषाको कमला नगरपालिका वडा नं. ७ हथमुण्डा र हरिने सामुन्ने कमला नदीको तटबन्ध कमजोर हुँदै गएको भन्दै नेपाली सेना सहितको टोली बाँधलाई बलियो बनाउन खटेका छन् ।
धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु सम्मलित टोली बाँध कमजोर भएको स्थानमा बाँध बलियो बनाउने कार्य गरिरहेको बताइएको छ । कमला तटबन्धमा रहेको टकला हरिने भनिने ठाउँमा कमला नदीको उच्च बहाबले तटबन्धलाई कमजोर बनाउँदै भत्काउने अवस्थामा पुगेपछि मेयर बरबरियाले एक टोली तयार पार्दै बाँधमा बोरामा बालुवा भरेर पुर्ने कार्य जारी राखेको बताएका छन् ।
४१ जना नेपाली सेना सहित शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले युद्धस्तरमा बाँध बलियो बनाउने कार्यमा जुटेका छन् । ईलाका प्रहरी कार्यालय यदुकूहाको टोली, सशस्त्र प्रहरी यदुकूहा र सशस्त्र प्रहरी दुबरकोट हथलेटवाको सँयुक्त टोलीले बाँधमा निगरानी बढाएको छ ।
शहिदनगर नगरपालिकावाट ५ सय बढी बोराको व्यवस्था गरिएको जनाउँदै बाँध नाजुक बनेको ठाउँहरुको खोजी गर्दै बोरामा बालुवा हालेर पुर्ने कार्य अझै जारी राखेको बताइएको छ । कमला नदीको त्यस क्षेत्रको तटबन्ध भत्किए कैयौँ गाउँ विस्थापित हुने अवस्थाको सृजना हुने छ ।