एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १३ : राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । बैठकले जिल्ला कार्यसमिति लाई हाललाई ५१ सदस्यीय बनाउँदै विस्तार गर्ने निर्णय गरेको छ ।
साथै युवा समिति धनुषा जिल्ला संयोजकमा किसन साहलाई मनोनयन गरिएको छ । एक साताभित्र जिल्लाको पदाधिकारीलाई पूर्णता दिन र सो प्रक्रियामा जिल्ला स्थित केन्द्रिय कार्यकारिणी सदस्यहरूको सल्लाहमा एक सप्ताह भित्र मनोनयन गर्ने जिम्मेवारी जिल्ला अध्यक्ष राजेश चौधरी राजुलाई दिने बैठकले निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष एबं धनुषा जिल्ला प्रभारी डा. राजीव झा को बिषेश उपस्थिति रहेको थियो । बैठकमा केन्द्रिय सचिव संजय चौधरी, अनुशासन समितिका अध्यक्ष संजय सिंह, प्रवक्ता रमण पाण्डे, विजय यादव, राम जीवन साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष डा. राजीव झाले स्वदेश वादलाई वैकल्पिक राजनीतिक विचारधारा बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले माओवाद, माक्र्सवाद, लेनिनवाद जस्ता आयातित विचारधाराले नेपाललाई गरिबीको दलदलमा धकेलेको आरोप लगाउँदै स्वदेशी विचारधारा मात्र देशलाई धनी बनाउन र विश्व सामु चिनाउन सक्षम हुने धारणा राख्नुभयो ।
त्यसैगरी पार्टीका प्रवक्ता रमण पाण्डेले मधेसी, आदिवासी, जनजाति सबैलाई एकजुट हुन आग्रह गर्नुभयो। साथै हिन्दी भाषालाई नेपाली सरह मान्यता दिनुपर्ने माग समेत गर्नुभयो । जिल्ला अध्यक्ष राजेश चौधरीले पार्टीलाई आउँदो निर्वाचनमा वैकल्पिक शक्ति बनाउन आफु जिल्लाको अध्यक्षको हैसियतमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लामा दलित, मुस्लिम, महिला, आदिवासी, जनजाति लगायत सबै समुदायलाई समेट्दै सम्मान दिलाउने प्रतिबद्धता जनाउनु भयो ।
अनुशासन समितिका अध्यक्ष संजय सिंहले कुनै पनि संगठनको सफलताका लागि अनुशासन अपरिहार्य हुने बताउनु हुदै मधेस आन्दोलनका शहिद लाइ सम्मान गर्नु पर्ने बताउनु भयो। केन्द्रिय सचिव संजय चौधरीले नेपालको राज्यसत्ता अहिलेसम्म एकल चरित्रको भएको उल्लेख गर्दै ३१ प्रतिशत मधेसी, ३८ प्रतिशत जनजाति र ३१ प्रतिशत खसआर्यको जनसंख्याको आधारमा सहभागिता सुनिश्चित गर्दै राज्यलाई समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्वागत मन्तव्य जिससको पुर्ब उपसभापति दीपक झाले राख्नुभएको थियो । बैठकलाई निष्कर्षमा पु¥याउँदै जिल्लाको आगामी राजनीतिक अभियानलाई प्रभावकारी बनाउन व्यापक एकता र संगठन विस्तार गर्ने निर्णय गरिएको छ । कार्यक्रममा राम जीवन साह,बिजय यादब,बिजय राय,सरगुन पासमान,शिव शंकर राउत लगायतले मन्तव्य राख्नु भएको थियो ।





