एसपी रिपोर्टर
जनकपुरधाम, असार १७ : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरूले उठाएका मागहरू जायज रहेको भन्दै सरकारलाई तत्काल समाधानतर्फ उन्मुख हुन आग्रह गरेका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले व्यवसायीहरूको आवाज बेवास्ता गर्नु सरकारका लागि घातक हुन सक्ने चेतावनी दिए । सरकारले सुनचाँदीलाई विलासिताको वस्तुका रूपमा वर्गीकृत गरेर कर असुल्न लिएको निर्णयप्रति आपत्ति जनाउँदै नेता निधिले भने, ‘सुन सम्पत्तिको स्वरूप हो, विलासिता होइन ।’
उनका अनुसार सरकारले निर्णय फिर्ता लिनुका साथै संवादमार्फत समाधान खोज्न तत्पर हुनुपर्छ । नेता निधिले देशभर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरूको दुई मुख्य माग तत्काल सम्बोधन गर्नु अपरिहार्य रहेको बताए । उनले समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरी व्यवसायीहरूसँग औपचारिक वार्ता थाल्न सरकारलाई सुझावसमेत दिए ।
धनुषा र महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका नेता निधिले यसअघि काठमाडौंमा व्यवसायीका केन्द्रीय प्रतिनिधिहरूसँग भेट गरिसकेको र पार्टी सभापति शेरबहादुर देउवालाई समेत मुद्दाबारे जानकारी गराइसकेको बताए ।



