जनकपुरधाम । मिथिलाञ्चलमा आइतबारबाट औपचारिक रुपमा होलीको शुरुआत भएको छ।
त्रेता युगमा भगवान राम र माता सीताले रंग अबीर एक अर्कालाई दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरुले ताजा गरेका छन्।
परिक्रमामा मिथिला विहारीको डोला संगै कञ्चनवन पुगेका परिक्रमामा सहभागीहरुले एक अर्कालाई रंग अबिर दलेर होेली पर्व मनाएका छन् । कञ्चनवनमा परिक्रमामा सहभागीहरुले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ।
कञ्चनवनमा परिक्रमामा सहभागी बाबा, महिला पुरुष सबै होलीमा रमेका थिए। परिक्रमा डोला कञ्चन वनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविदहरु बताउँछन्।
त्यहाँको होली मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहभागिता हुन्छ। फागुन शुक्ल प्रतिपदाबाट शुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासंगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ।
यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल समेत रहेको छ। इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ। यो स्थानमा भगवान राम र माता जानकीले होली पर्व मनाएका थिए। यहाँ परिक्रमामा सहभागीहरु रंग अबिरबाट होली खेल्ने गर्छन्।
कञ्चन वनको होलीको प्राचिनतालाई देखेर विगत केही वर्ष यता देखि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले होली महोत्सव मनाउँदै आई रहेको छ।
किशोरीजी डोलाका प्रमुख महन्थसमेत रहेका प्रेस काउन्सिलका सदस्य नवलकिशोर शरणका अनुसार जुन होली कञ्चन वनमा हुने गरेको छ त्यस्तो मिथिलाञ्चलमा कही कतै हुँदैन।
एकातिर रंगअबिर, अर्को तर्फ होरैया गान, फेरि हजारो सहभागिता देखिने गर्छ यहाँको होली आनन्दमय हुन्छ।