एसपि रिपोर्टर
जनकपुरधाम , जेठ ९
: नेकपा एमाले धनुषा जिल्ला कमिटीको ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा भोला यादव नेतृत्वको समूहले प्यानलसहित शानदार विजय हासिल गरेको छ।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा भोला यादवले ४०२ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवले २०० मत प्राप्त गरेका थिए। भोला यादव समूहलाई एमालेका वरिष्ठ नेता रघुवीर महासेठ र जुली महासेठको समर्थन रहेको थियो।उपाध्यक्ष पदमा तेजनारायण यादवले ४३० मत प्राप्त गर्दै जयप्रकाश सुनरैतलाई २७० मतको फराकिलो अन्तरले पछि पार्दै विजयी भए। सुनरैतले १६० मत प्राप्त गरेका थिए।सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै प्रतिद्वन्द्वी धिरेन्द्र मण्डललाई १४० मतले पराजित गरे। मण्डलले २२५ मत प्राप्त गरेका थिए।उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन्। उनले हरिकिशोर यादवमाथि १८५ मतको अग्रता हासिल गर्दै पदमा निर्वाचित भए।महिला उपसचिवतर्फ रुका कुमारी मिश्रले ३९१ मत प्राप्त गर्दै किरण कापरलाई पछि पारिन्। कापरले १८४ मत प्राप्त गरेकी थिइन्।लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन्। उनले १५८ मतको अन्तरले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन्।

निर्वाचन समितिका अनुसार अधिवेशन अन्तर्गतको निर्वाचन शान्तिपूर्ण तर प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको थियो।