एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ : नागरिक उन्मुक्ति पार्टी(नाउपा)का दुई दर्जन बढी केन्द्रीय नेताहरु राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित भएका छन् । नाउपाका केन्द्रीय उपाध्यक्ष विजय कुमार यादवको नेतृत्वमा पार्टीमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई दर्जन बढी केन्द्रीय सदस्यहरु राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित भएका हुन् ।
बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गर्दै आफूहरु राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित भएको बताएका छन् । नाउपाका केन्द्रीय उपाध्यक्ष विजय कुमार यादव र केन्द्रीय सदस्य मोहम्मद तनवीर अख्तर मिकरानीले हस्ताक्षर गरेको उक्त विज्ञप्तीमा पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भएपनि पार्टी बनाउने अठोटका साथ हिडेका आफूहरुले पार्टीभित्रको गलत तत्वहरु नसुध्रिने छाँटकाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेका केन्द्रिय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृत्ति हावी भएको उनीहरुको आरोप छ ।
नेतृत्वले पार्टीलाई प्राइभेट लिमिटेड सम्झी आफ्नै विरासत सम्झिने गरेको पनि टिप्पणी गरेका छन् ।राष्ट्रीय मुक्ति क्रान्ति नेपालमा समाहित हुनेहरुमा नाउपाका केन्द्रीउ उपाध्यक्ष यादवसँगै केन्द्रिय सदस्यहरु विरेन्द्र महतो(धनुषा), सुनिता कुमारी महतो(धनुषा), दिनेश यादव(धनुषा), विष्णुनारायण यादव(सिरहा), रामअशिष चौधरी(पर्सा), सरिता महतो चौधरी(पर्सा), पप्पुकुमार महतो(पर्सा), अफताब हवारी(पर्सा), अरुणकुमारी चौधरी(बारा), निराजन चौधरी(बारा), उर्मिला राणा(बारा), पप्पु कुमार बैठा (बारा) लगायत दुईदर्जन बढी केन्द्रीय नेताहरु रहेका छन् ।
वहुल राष्ट्रिय राज्य स्थापनासहित समृद्ध मधेश तथा समृद्ध देश निर्माणका लागि आफूहरुले आवश्यक छलफल गरि नयाँ हिसाबले अगाडी बढ्न राष्ट्रिय मुक्ति कान्ति नेपाल पार्टीमा समाहित भएको यादवले बताए । उनले भने, ‘अहिले यो पहिलो चरणमा हामी यति संख्यामा समाहित भएका छौं । अरु केन्द्रिय सदस्यहरु पनि हाम्रो सम्पर्क हुनुहुन्छ । छिट्टै अरु साथीहरुलाई पनि समाहित गर्छौं,’ यादवले भने ।


