एसपी रिपोर्टर
जनकपुरधाम, असार १ :
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ स्थित मनोकामना सिद्ध हनुमान मन्दिरको सम्पति संरक्षणका लागि संरक्षण समिति गठन गरिएको छ ।
शनिवार वडावासीको भेलाबाट पूर्व वडाध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा ११ सदस्यीय संरक्षण समिति गठन गरिएको हो । सो समितिको उपाध्यक्षमा सरस्वती साह, कोषाध्यक्षमा रेखा साह, सचिवमा विनोदकुमार मण्डल, सहसचिवमा निरजप्रसाद साह चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा शत्रुध्न यादव, फेकन दास, शंकर भण्डारी, सन्तोष साह, विक्रम दास, अनिता साह, राम मनोहर साह र रेखा मण्डललाई सर्वसम्मतिले चयन गरिएको छ ।
मन्दिरको नाममा रहेका सम्पतिको खोजी र अतिक्रमित जग्गालाई अतिक्रमणमुक्त गराउन अधिकारिक व्यक्ति नभएका कारण समाजको भेलाबाट मन्दिरको नाममा रहेका सम्पतिको खोजीनिती र अतिक्रमण भइसकेका जग्गाहरुलाई कानूनी तरिकाले अतिक्रमण मुक्त गराउन सो संरक्षण समितिको गठन गरिएको अध्यक्ष रामचन्द्र साहले बताए ।
उनले भने वडा जनप्रतिनिधिलाई मन्दिरको सम्पति खोजी र अतिक्रमणमा परेका जग्गालाई अतिक्रमणमुक्त गरानउ पटक पटक आग्रह गर्दा कुनै चासो लिएन । गएको जेठ २६ गते हामी समाजका मान्छेले भेला गरेका थियौं त्यसमा वडाध्यक्ष आएन र आजपनि आएन । उहाँको बाटो कति कुरौ भेलामा उपस्थित समाजकै व्यक्तिहरुको आग्रहमा यो समिति गठन गरिएको हो ।
मन्दिरको कति सम्पति छ र कतिको अतिक्रमण भइसकेको भन्ने प्रश्नमा समितिका अध्यक्ष साहले त्यसको यकिन तथ्यांक छैन । सो तथ्यांक नै एकत्रित गर्न यो समिति गठन गरिएको हो । समितिको कार्यकाल एक वर्षको रहेको छ । यसै अवधिमा समितिले मन्दिरको नाममा रहेका सम्पतिको खोजी र अतिक्रमित जग्गालाई अतिक्रमण मुक्त गराउने लगायतका काम गर्नेछ उनले बताए ।
यस्तै समितिका उपाध्यक्ष सरस्वती साहले भनिन् ‘यो समिति गठनको एकमात्र उद्देश्य हाम्रो वडामा रहेका पुरातात्विक महत्वका मनोकामना सिद्ध हनुमान मन्दिर सहित मन्दिरको नाममा रहेका सम्पतिको खोजीनिती र अतिक्रमित सम्पतिलाई अतिक्रमण मुक्त गराउने हो । अतिक्रमण भइसकेका सम्पति फिर्ता ल्याउनु धेरै चुनौती रहेपनि यो समितिले कानून रुपमा लडेर अतिक्रमण मुक्त गराउनेछ ।