एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १० : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अगामि २०८४ को आम निर्वाचनमा धनुषाको चारवटै सिटमा जित्ने गरि परिचालित हुन तरुण दल र नेविसंघलाई निर्देशन दिएका छन् । नेपाल तरुण दलको ७१ औं स्थापना दिवसको अवसरमा जनकपुरधामको पिडारीचौकमा आयोजित दिप प्रज्वलन कार्यक्रममा पुर्व मन्त्री यादवले भने, ‘नेविसंघ र तरुण दल सक्रिय भए धनुषाको चारवटै सिटमा नेपाली कांग्रेस विजयी हुनेछ ।’
उनले तरुण दलको स्थापना दिवस मनाउन समेत आफैले स्मरण गराउन परेको तर्फ ध्यानाकर्षण गराएका थिए । तरुण दलका जनकपुरधाम नगर समिति अध्यक्ष पंकज महतोको अगुवाईमा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्य कुमरकान्त झा, जनकपुरधामका मेयर मनोज साह, मधेस प्रदेश सदस्य जिवनाथ चौधरी, तरुण दल धनुषा जिल्लाका कार्यवाहक अध्यक्ष राकेश विक्रम साह, महाधिवेशन प्रतिनिधि धिरेन्द्र मोहन झा, रामवरण पासवान, सहित जनकपुरधामका वडा अध्यक्षहरु, नेविसंघ धनुषा महोतरीका अध्यक्ष, तरुण दालका केन्द्रिय सदस्य र जिल्लाका पदाधिकारी र नेताहरुको उपस्थिती थियो ।