एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ : गौर हत्याकाण्डको दोषिहरुलाई कारवाहीको माग गर्दै आम जनता पार्टीद्धारा वृहत मोटरसाइकल रयाली प्रदर्शन गरिएको छ । शनिवार देखि चन्द्रपुरमा सो काण्डमा मारिएकाको धर्मपत्नी एकल महिलाहरु धर्नामा बसेका थिए भने आइतवार (आज) वृहत मोटरसाइकल रयाली निकालिएको छ ।
आम जनता पार्टी र शहिद परिवारद्धारा साउन १ गते प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउदै गौर हत्याकाण्डमा तत्कालिन समयमा परेको किटानी जाहेरीको आधारमा पिडकहरु विरुद्ध कारवाही सुरु नगरिएमा चरणबद्ध रुपमा आन्दोलनमा जाने जानकारी स्थानीय प्रशासनलाई गराएका थिए ।
स्थानीय प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख भए अनुसार साउन २ देखि १२ गते सम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया गरियो, साउन १३ गते सहिद परिवार एवं पिडितद्धारा धर्ना दिइयो र साउन १४ गते गरुडाबाट वृहद मोटरसाइकल रयालीको माध्यमबाट रौतहटबासीलाई गौर हत्याकाण्डका दोषिलाई कारवाही गराउने तर्फ ध्यानाकर्षण गराइएको छ ।
गौर हत्याकाण्डको १७ बर्ष वितिसक्दा पनि राज्यले दोषिहरुलाई कारवाही गर्न कुनै चासो नदेखाएपछि बाध्य भएर आम जनता पार्टी र सहिद परिवारले यसप्रकारको कठोर कदम उठाउन बाध्य भएको आजपाका महासचिव उपेन्द्र साहले बताए । साउन १५ भोली सोमवार देखि अनिश्चितकालिन रौतहट बन्दको समेत आहवान गरिएकाले पूर्व सन्ध्यामा मोटरसाइकल रयाली निकालीएको हो ।
आजपाले हत्याकाण्डमा मुछिएका दोषिहरुलाई कारवाही गराउनका निमित्त भोली देखि हुने अनिश्चितकालिन रौतहट बन्दलाई सामान्य रुपमा नलिन आग्रह गरेको छ । आजपाले काण्डको मुख्य योजनाकारका रुपमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई देखाउदै यादव विरुद्वको आन्दोलन कडा पार्दै गएको छ ।