एसपी रिपोर्टर
जनकपुरधाम, असार १ : नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले संविधान संसोधनको आवश्यकता औंल्याएका छन् । जनकपुरधाममा प्रेस चौतारी धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको हालसालै मधेश प्रदेशको ईन्चार्जको जिम्मेवारी समेत पाएका उनले संसद र राष्ट्रियसभाबाट दुई दुई पटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको कानुन राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि राष्ट्रपतिलाई के गर्ने भन्ने विषयमा संविधान संसोधन हुनुपर्ने बताएका छन् ।
उनले अन्य देशहरुमा राष्ट्रपतिले जानीनजानी त्यस्ता विद्ययेक प्रमाणीकरण गर्न नगरेपछि समयसिमा पछि स्वत कानुन बन्ने प्रावधान संविधानमा रहेपनि नेपालको संविधानमा केहि पनि उल्लेख नरहेकाले संविधान संसोधन हुनुपर्ने बताए । उनले अंगिकृत नागरिकताका लागि सात वर्ष प्रतिक्षा गर्ने अवधीमा काम गर्न सहज होस भन्ने उद्देश्यले त्यस्ता अंगिकृत नागरिकलाई कुनै परिचय पत्र समेतको व्यवस्था गरिनुपर्ने बताए ।

उनले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्ययेक प्रमाणीकरण नगरेर गल्ती गरेको संकेत गर्दै एकले गल्ती गर्दैमा अर्काले महागल्ती गर्नुपर्छ भन्ने छ र ? भन्दै प्रश्न समेत गरे । शिक्षा, स्वास्थ्यका साथै प्रति व्यक्ति आयमा समेत सातै प्रदेशमा मधेश पछाडि रहेकाले मधेश सरकारलाई काम गर्न सजिलो होस भन्ने उद्देश्यले एमालेले जसपाको मुख्यमन्त्रीलाई शंकाको सुविधा सहित मधेशमा बिश्वासको मत दिएको स्पष्ट पारेका छन् ।
पार्टीको तर्फबाट आफुलाई मधेश प्रदेशको ईन्जार्च र मधेशका सचिव रघुविर महासेठलाई कोशी प्रदेशको ईन्चार्ज बनाएकोमा खुसी व्यक्त गर्दै उनले यस्ले पार्टीमा नेता र भुगोल बिचको अपनत्व बढने बताए । एमालेको उत्पती र सुरुवाती मुख्य राजनितिक पृष्ठभुमि मधेशनै रहेकाले आफुले मधेश झन थप बुझने मौका पाएको रुपमा लिएको उनको टिप्पनी थियो । सो पत्रकार सम्मेलनमा एमाले नेतृ जुली महतो, नेताहरु राजकिशोर यादव, शिवशंकर साह हिरा, शम्भु साह, चौतारी धुनषाका अध्यक्ष अवधेश कामत सहितको उपस्थिती थियो ।





