एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ६ : नेपाली कांग्रेसका पुर्व उपसभापती विमलेन्द्र निधीले मधेशमा नेपाली कांग्रेसले आफनै नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवसको अवसरमा नेविसंघको धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको शिक्षा प्रणालीमा सुधार विषयक बिचार गोष्ठी कार्यक्रममा बोल्दै पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधीले कांग्रेसको गोरहा खेत मधेश कांग्रेसको अभिभावकत्व बिना अधुरा रहेकाले आफनै नेतृत्वमा सरकार बनाउन अहिले र पाँच वर्ष पछि हुने निर्वाचनमा पनि त्यसको तयारीमा जुटन नेविसंघका साथै नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।
हालको गठबन्धन अहिले अझै पाँच वर्ष यथावत रहनुपर्ने पक्षमा आफु रहेको भन्दै निधीले पाँच वर्ष पछि हुने निर्वाचनमा बिना कुनै गठबन्धन नेपाली कांग्रेस एक्लै चुनाव लडेर मधेशमा सरकार बनाउने गरि तयारीमा आफुहरु जुटिसकेको बताएका छन् । उनले त्यसका लागि आफु सैद्वान्तिक रुपमा तयारी समेत थालिसकेको बताए ।
उनले बैशाख १० गने हुन गइरहेको उपनिर्वाचनमा तनहु १ र चितवन २ मा कांग्रेसका र बारा २ मा गठबन्धनका उम्मेदवार जिताउन नेविसंघ सहित नेता कार्यक्रतालाई परिचालित हुने समेत आग्रह गरेका छन् । निधीले देशमा विश्वविद्यालयहरु थपिनु हुदैन भन्ने तर्क विचलित र संकुचित मानसिकताको उपज रहेको समेत बताए ।
त्रिभुवन विश्वविद्यालयलाई मातृ वा जननी विश्वविद्यालयको रुपमा राखेर देश भरिमा विभिन्न क्षेत्रका विशेष शिक्षा र अध्यापनका लागि कम्तिमा २५ वटा बिश्वविद्यालय स्थापना हुनुपर्ने उनको तर्क छ । भारत, बंगलादेशहरुमा त्यत्रो विश्वविद्यालय कसरी चल्छ ? लाखौं विद्यार्थीहरु त्यहाँ गएर पढने अनि पैसा खर्च कसरी गर्ने गरेका छन ? प्रश्न गर्दै उनले जनकपुरधामको राजर्षी जनक विश्वविद्यालयमा भइरहेको लफडा नियोजित र शिक्षा सुधार हुन नदिने षडयन्त्र रहेको उनले बताए ।
नेपाल विद्यार्थी संघको संस्थापक धनुषा सचिव र अधिवेशनबाट बनेको पहिलो राष्ट्रिय कार्यसमितिका अध्यक्ष समेत रहेका निधीले देशको प्रधामन्त्री, राष्ट्रपति सहितका कांग्रेसका शिर्षनेताहरु, देशका चर्चित नायक नायिका, अधिवक्ता, पत्रकार सहित देशका हरेक क्षेत्रका अगुवा नेविसंघको उत्पादन रहेको भन्दै नेविसंघका नेताहरुलाई राजनिति मात्र होइन आफुलाई मन परेको क्षेत्रमा मन लगाएर अध्यन्न गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा प्रदेश सांसद रामसरोज यादव, कांग्रेस धनुषा जिल्ला सभापती योगेन्द्र पजियार, नेविसंघ धनुषा सभापती सुजित यादव सहितकाले शुभकामना मनतब्य राखेका थिए भने कार्यक्रममा कांग्रेस धनुषाका उपसभापती लक्ष्मीनारायण यादव, गणेश झा, सचिव कन्हैया कुमार कर्ण, नेताहरु देवेन्द्र भरखेल यादव, गणेश तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह सहितको उपस्थिती थियो ।