एसपी रिपोर्टर
जनकपुरधाम, चैत २४ : नेपाली कांग्रेस महोत्तरीले संगठन सुदृढीकरण अभियान अन्तर्गत सुरु गरेको जिल्ला पदयात्रा अभियान शनिबार सम्पन्न हुदैछ । नेपाली कांग्रेस महोतरीको अगुवाईमा खयरमाराबाट चैत ११ गतेदेखि सुरु भएको मधेस प्रदेशमा ‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ भन्ने नारा सहितको पदयात्रा शनिवार पावन धर्ती जलेश्वरमा समापन हुने बताइएको छ । पार्टीका महोत्तरी जिल्ला सभापति नागेश्वर यादवको नेतृत्वमा १५ दिने पदयात्रा अभियानको रुपमा आयोजना गरिएको छ ।
सभापति यादवको नेतृत्वमा ५० जना नेताहरुले जिल्लाको १५ वटै स्थानीय तहको १ सय ३२ वटै टोलमा पुग्ने योजना सहित पदयात्रा आरम्भ गरेका थिए । पदयात्राको १४ औं दिन शुक्रबार जलेश्वर नगरपालिकाका केही वडा लगायत सिमरदही, बहुअर्वा, सिरसिया र धिरापुरको भ्रमण जारी रहेको नेपाली कांग्रेसको स्वास्थ्य विभागका उपप्रमुख तथा नेता डा. सज्जन ठाकुरले जानकारी दिए ।
अभियान अन्तर्गत शनिबार १५ औं तथा अन्तिम दिन जलेश्वर भ्रमण गर्नुका साथै सभाको आयोजना गरि पदयात्राको समापन हुने उनले बताए । जलेश्वरमा आयोजना हुने सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत विशेष उपस्थिती रहने डा. ठाकुरले जानकारी दिए । पार्टीका नेता कार्यकर्तामा उर्जा बढाउन, समन्वय–सहकार्य गरी नेता कार्यकर्ता तथा जनताबीच आत्मियता बढाउन र जिल्ला दर्शनका उद्देश्यले पदयात्राको शुरुवात गरिएको थियो ।
महोत्तरीबाट सुरु भएको पदयात्रा मधेस प्रदेशको आठवटै जिल्लामा सुरु गरी पार्टीको गाँउ तहको संगठन सक्रिय बनाइने कांग्रेस महोतरीको भनाई छ ।