एसपी रिपोर्टर
काठमाण्डौं, चैत १५ : नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई पार्टीमा प्रवेश गराउनु भएको हो । त्यसक्रममा कुशवाहले बारा क्षेत्र नम्बर २ का जनताको भावना अनुसार चुनाव लडन आफू जनमत पार्टीमा प्रवेश गर्नु परेको स्पष्ट पार्नु भयो ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँलाई जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव हाल उपराष्ट्रपतिले ३ सय ५४ मतले पराजित गर्नु भएको थियो । तर जनताको भावना विपरित माओवादी केन्द्रले उपेन्द्र यादवलाई उपचुनावमा लडाउने भएपछि आफूले सो पार्टी परित्याग गर्नु परेको पनि कुशवाहले खुलासा गर्नु भयो ।
उहाँले निर्वाचनमा हार व्यहोरेका यादव पदलोलुप्ताका कारण बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आइरहेको भन्दै हराएर पठाउने चेतावनी समेत दिनु भयो । माओवादी पार्टीले आफूमाथि जालझेल र षडयन्त्र गरेकाले आफूले मधेश मुक्ति र देशका लागि केही गर्ने मनोविज्ञान बोकेको डा. सिके राउत नेतृत्वको जनमत पार्टी रोज्नु परेको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. राउतले आफ्नो पार्टी जनताको मात्रै नभई जनताको भरोसा रहेको नेताको पनि उद्धार गर्ने पार्टी भएको दावी गर्नु भएको थियो । डा. राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पार्नु भएको छ । अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उहाँको जित हुने प्रवल सम्भावना रहेको पनि बताउनु भयो ।
उहाँले मधेश प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमती सत्तारुढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनसँग जोडेर नहेर्न पनि पटकपटक आग्रह गर्नु भयो । अध्यक्ष राउतले बैकल्पिक नयाँ राजनीतिक दलहरुलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन पनि आग्रह गर्नु भयो ।
ठूला पार्टीहरु पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरुले पनि मिलेर सो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष राउतले सो क्षेत्रको जनताले सत्यको जितका लागि उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको जिकीर समेत गर्नु भयो ।