एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : भ्रष्टाचार विरुद्व देशकै चर्चित कार्टुनिष्टहरुले बनाएको रोचक कार्टुनहरु जनकपुरधाममा प्रदर्शन गरिएको छ । कार्टुनिष्ट क्लव नेपालको आयोजनामा जनकपुरधाममा भएको एक कार्यक्रममा भ्रष्टाचार विरुद्व देशकै चर्चित कार्टुनिष्टहरुले बनाएको रोचक कार्टुनहरुको प्रदर्शनी गरिएको छ । प्रदर्शन भोली आइतवार सम्म नेपाल बार एशोसिएसनको सभाहलमा चल्ने छ ।
कार्यक्रममा सहभागि मधेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले कुनै पनि देशको मुल शासक कठोर नभए सम्म देशका तल्लो तहमा भ्रष्टाचारको अन्त्य हुन नसक्ने ठोकुवा गरेका छन् । उनले देशमा हाल दिउँसै रात देख्ने गरि भ्रष्टाचार भइरहेको उनको तर्क थियो । मन्त्री साहले भ्रष्टाचार मात्र नभई देशमा रहेको विद्यमान वेथितिहरु विरुद्व अहिले कार्टुनिष्टहरु समाचार र लेख भन्दा पनि प्रभावकारी कार्टुनहरु बनाएर सचेतना जगाउने काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार तथा बामपन्थी नेता रोशन जनकपुरी हजारौ व्यक्तिहरुको मनको भावना एउटै कार्टुनमा झल्किने भएको हुँदा कार्टुनलाई मनोरञ्जनका साधनका रुपमा मात्र लिनु समाजका लागि हितकार नहुने बताए । उनले भने, ‘त्यो एक सम्पुर्ण जनचेतना हो, समाचार र फोटो भन्दा पनि रोचक टुल हो ।’ क्लवका सदस्य केशव राज खनालले भ्रष्टाचार विरुद्व जनजागरणका लागि देश व्यापी रुपमा यस्ता कार्टुनहरु लिएर पुग्ने क्रममा मधेशको राजधानी जनकपुरधाम आइपुगेको बताउछन् ।
कार्यक्रममा पत्रकार किरण कर्ण, अवधेश कामत, राजेश सक्सेना, अनिल पासवान र सुधिरा कर्ण सहितको उपस्थिती थियो ।