एसपी रिपोर्टर
महोतरी, साउन १३ :
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक लोकतन्त्रले मात्र मुलुकको आमूल परिवर्तन सम्भव नरहेकाले अव सामाजिक र आर्थिक लोकतन्त्र आवश्यक रहेको बताए । जसपा मधेश प्रदेश समितिले आज बर्दिवासमा आयोजना गरेका स्थानीय तहमा नवनिर्वाचित प्रमुख/उपप्रमुख ’हरुको सम्मान कार्यक्रममा अध्यक्ष यादवले मुलुक मा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि आमूल परिवर्तनका लागी थप संघर्ष को आवश्यकता औल्याएका छन् । उनले राजनीतिक लोकतन्त्रको स्थापनाले राजनीतिक परिवर्तन ल्याएको तर आर्थिक र सामाजिक परिवर्तनका लागी अझै संघर्ष गर्नु पर्ने बताए ।

सामाजिक लोकतन्त्र र आर्थिक लोकतन्त्र विना मुलुकको आमूल परिवर्तन सम्भव नरहेको उल्लेख गर्नु हुँदै उहाँले अबको पार्टीको कार्यदिशानै सामाजिक र आर्थिक लोकतन्त्र हुने बताए । समाजको मुलधार भन्दा बाहिर रहेको समुदायलाई मुलधारमा ल्याउन सामाजिक लोकतन्त्र र आर्थिक समानता कायम गर्न आर्थिक लोकतन्त्र आवश्यक रहेको उनको कथन थियो । वर्तमान निर्वाचन प्रणालीले राजनीतिक लोकततन्त्रलाई विकृत बनाई रहेको उल्लेख गर्नु हुदै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली, पूर्ण समानुपातिक संसदीय निर्वाचन र दलविहिन स्थानिय तह आजको मुल आवश्यकता रहेको बताए ।

जसपा प्रदेश अध्यक्ष रामबाबु यादवको अध्यक्षमा भएको उक्त कार्यक्रममा प्रदेश कमिटीका उपाध्यक्ष शम्भु झा, रामपृत पासवान, लिला हरी खतिवडा सहितले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नेताहरु रामअशिष यादव, बलराम महतो, दिपक कार्की सहित केन्द्रिय, प्रदेश र जिल्लाका नेताहरु सहितको उपस्थिती थियो भने जसपाको तर्फ बाट मधेश प्रदेशमा नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख तथा गा.पा. अध्यक्ष/उपाध्यक्ष हरुलाई सम्मान गरिएको थियो ।