एसपी रिपोर्टर
जनकपुरधाम, साउन ९ : काठमाडौँ विश्वविद्यालयले जनकपुरधामको जानकी कलेजसंगको सहकार्यमा आइटीसंग सम्बन्धित बी. टेक. एड. कोर्स संचालनमा ल्याउने भएको छ । काठमाडौँ विश्वविद्यालयले आफ्नो विस्तारित कार्यक्रम अन्तर्गत जनकपुरधामको जानकी कलेजसंग सहकार्य गरेर संचालनमा ल्याउन लागेको हो ।
आधुनिक शिक्षा पद्धतीमा संचालनमा ल्याउन लागिएको यो कोर्सका लागि जनकपुरधामको जानकी कलेजका लागि विश्वविद्यालयले ३० वटा सीट छुट्याएको छ । जसका लागि कक्षा १२को परिक्षा दिएका विद्यार्थीहरुले आउने शनिबार प्रवेश परिक्षा दिन सक्नेछन् । प्रवेश परिक्षामा कम्तीमा ४० प्रतिशत अंक ल्याउने विद्यार्थीलाई मात्रै भर्ना गरिने जानकी कलेजका चेयरमैन पंकज जलानले जानकारी दिए ।
बी.टेक.मा भर्ना हुने विद्यार्थीहरुलाई यस कोर्सको सिलेवश अनुसार ८० प्रतिशत प्रयोगात्मक क्षमता देखाउनु पर्ने र २० प्रतिशत मात्रै लिखित रुपमै परिक्षा दिनुपर्ने जलानले बताए । उनका अनुसार यहाँबाट उतीर्ण हुने विद्यार्थीहरुको मार्कसीट काठमाडौँ विश्वविद्यालयले नै उपलब्ध गराउनेछ ।