एसपी रिपोर्टर
जनकपुरधाम, माघ ७ : हिंसात्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवविरुद्ध नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता सडकमा उत्रिएका छन् ।

राष्ट्रिय युवा संघ धनुषाले शुक्रबार जनकपुरधाममा मन्त्री यादवविरूद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरूले मन्त्री यादवको राजीनामा माग गर्दै नाराबाजीसमेत गरेका छन् । कानुनलाई हातमा लिएर आफ्नो पदीय मर्यादा भुलेर हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्रीले बर्खास्त नगरे थप आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।
बुधबार बलिदानी दिवसको अवसरमा गौरमा भएको सभामा मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिनुभएको थियो । मन्त्री यादवले आफ्नो मर्यादाको समेत ख्याल नगरी गैरनसंहारलाई जोडेर अभिव्यक्ति दिएपछि चौतर्फी विरोध हुँदै आएको छ ।