पुरन रौनियार
सबैला (धनुषा), असोज ३० : धनुषाको सवैला नगरपालिकाको सवैला बजारमा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रममा विभिन्न सकारात्मक र नाकारात्मक पक्ष देखियो । पार्टीका वरिष्ठ नेता प्रतिनिधीसभा सांसद राजेन्द्र महतोको विशेष उपस्थिती देखिएपनि प्रचारवाजी भए जस्तो पार्टीका अध्यक्ष उपेन्द्र यादव र अर्का वरिष्ठ नेता डा. बाबुराम भट्टराई अन्तिम समयमा नआएपछि केहि सहभागिहरु कार्यक्रम सुरु हुनुवितिकै फर्के ।
कार्यक्रम सुरु भएपनि त्यहाँ पुगेका तत्कालिन फोरम नेपालका अधिकांश जिल्ला नेताहरु हिडे । उपेन्द्र यादव नआउने सुन्ने वितिकै उनका समर्थकहरु पनि लागे । यो त भयो ग्राउन्डको कुरा । मञ्चमा त झनै लफडा देखिन्थ्यो । नव प्रवेशी र उपस्थित दर्शकलाई एकताको सन्देश दिनुपर्नेमा मञ्चमा सवै नेताहरुको आ–आफनै चालवाजी हेर्न लायक थियो । उदघोषक पत्रकार सुरेश यादवको पिठयुमा नेताहरुको लस्कर नै थियो । कोहि उदघोषकले बलाएपछि बोल्न आउने त कोहि आफै माइक खोसेर पार्टी भित्रै चरम विवाद झल्किने अनुशासनहिन हर्कत पनि प्रस्तुत समेत गरे ।

सो क्षेत्रवाट प्रनिनिधीसभा सांसदका प्रत्यासी दिपक कार्कीको बोल्ने मौका आयो । उनले भने, ‘हल्लाको पछाडि नपर्नु होला म कांग्रेस छाडेर त्यसै आएको होइन, बाचुञ्जेल जसपाकै झन्डा बोकेर हिडने छु’ उनले यो बोलिरहँदा ताली त बज्यो तर सोहि क्षेत्रवाट प्रदेश सांसदका प्रत्यासी श्याम प्रसाद यादवलाई बोल्न नदिएकाले कार्की बोलिसकेपछि उनी आफै माइक खोसे र मैथलीमा बोले, ‘बर बर घोरी भाषण करे नरघोरी कहे कतेक पाइन’ पार्टीमा नयाँ नयाँ आएर बर्चस्व बनाउनेहरु तर्फ लक्षित गर्दै उनले भने, ‘कार्की जी १८ हजार त हम्हु १० हजार मत लौने रहि से याद करु, पार्टीमे बेसी मनमौजी करव त राजिनामा द छोइर क चैल जायव ।’

पार्टीमा नयाँ कार्यक्रता प्रवेश गराइरहँदा सोहि मञ्चमा श्याम यादवले बोलेको यो कुरा मञ्चमा आसिन नेताहरुको मुख मलिन गरिदियो भन्दा फरक नपर्ला । उदघोषक यादव धेरै नेताहरुलाई दुवै हात हात जोडेर समय अभाव रहेको विन्ती गर्ने गरेको भएपनि उनको आग्रह भित्र कोहि पनि थिएन । बोल्ने क्रममा केन्द्रिय सदस्य भनिएका सुरेन्द्र मण्डलले त अध्यक्ष मण्डलका सवै नेताहरुलाई मञ्चवाटै चेतावनी दिए र भने, ‘यो अध्यक्ष मण्डल भन्नेहरु आफुलाई ठुलो नेता ठान्न थालेका छन जे मनमा आयो त्यै लागु गर्न चाहने ? ।’
प्रदेशका मन्त्रीहरु पनि बोल्ने लाइनमा थिए तर वक्ताका दावेदार र नेताहरुले भरिभराउ मञ्चमा मन्त्रीवाट जितेन्द्र सोनल र नवल किशोर साहले अवसर पाए । सोनलले नव प्रवेशीहरुलाई भने, ‘तपाँईहरुले दल त्याग गर्नु भएको होइन धार त्याग गरेको छु भनेर सोच्नोस, महाभारतमा भगवान कृष्णको आवहानमा सत्यको पक्षमा ठुलो जमात उभिए जस्तै जसपाको पक्षमा जमात आउने क्रम जारी रहेको उनको तर्क थियो ।
बजारका पसलेहरु पसलवाटै भाषण सुनिरहेका थिए भने अन्य दलका पार्टीका नेताहरु समेत आफना नेताहरुलाई ब्रिफिङ्ग गर्न जसपा नेताहरुको भाषण ध्यान पुर्वक सुनिरहेको देखियो । पार्टीका अध्यक्ष यादव र वरिष्ठ नेता डा.भट्टराई आएको भए अझै जनता भरिभराउन हुनेथ्यो भन्ने विश्लेषण सवैले गरिरहेका थिए ।

मञ्चमा नेताहरुको लछाडपछाड हेरिरहेका प्रदेश सांसद परमेश्वर साह र रामअशिष यादवले आफुहरु नबोल्ने इच्छा जाहेर गरे । पार्टी प्रवेश कार्यक्रममा पार्टीका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, मुख्यमन्त्री लालबाबु राउत, केन्द्रिय नेता अनिल कुमार झा, प्रतिनिधीसभा सांसद उमाशंकर अरगरिया, प्रदेश सांसद मनिष सुमन, चमेली देवी दास सहित पार्टीवाट निर्वाचित स्थानिय तह प्रमुखहरुले बोलेका थिए ।
जसपा सवैला नगरसभापति रामचन्द्र जयसवालको अध्यक्षतामा भएको नगरस्तरीय पार्टी प्रवेश कार्यक्रममा जिल्ला नेता संजय सिंह स्थानिय नेता राजकुमार साह सहितकाले समेत छोटोमा आफनो शुभकामना मनतब्य राखेका थिए । सहभागि सवैका लागि मास्कको व्यवस्था गरिएको थियो भने नवप्रवेशीहरुलाई गम्छा लगाएर पार्टीमा स्वागत गरियो । करिव २ हजारले पार्टी प्रवेश गरेको जसपाको भनाई छ ।
तस्वीर : संजय साह


