पुरन रौनियार
जनकपुरधाम, फागुन ११ : सर्वोच्च अदालतको संसद पुर्नस्थापनाको आदेशले जनतामा उत्साह छाएको छ । विभिन्न राजनितिक दल, नागरिक अगुवा तथा मिडिया स्वयमको संविधानको पक्षमा दबाब मुलक न्युज र भ्युजले आज सम्मानित सर्वोच्चअदालत निर्भिक रुपमा निर्णय लिन पुगेको भन्दा गलत नहोला ।
त्यसो त जनता संसद विघटन पछि पनि ओली समुह र सरकारको पक्षमा नदेखिएको भने होइन तर सरकारी पक्षको भिडभाडको विश्लेषण र त्यस भिडमा भएको सत्ता र राज्यकोषको दुरुपयोगका विषयमा पनि देशका मिडियाले उजागर गरेकै हुन । समाचार लेखेकै हुन । ओली समुहले कार्यक्रम गर्दा भिड देखाउन सुरुवात गरेको ड्रोन परम्पराको सुरुवात पनि मिडियाले नै उजागर गरेको हो ।
सवै पक्षको बिचार समाचारमा सम्प्रेशन गर्ने दायित्व रहेकाले सरकार र ओली पक्षको भिडको समाचार पनि मिडियाले धर्म निर्वाहको क्रममा भुलेन । आज देशै भरि खुसिहाली छाएको छ । देशमा जनता मात्र होइन स्वयम कानुनको रक्षक समेत रहेको न्यायालय छ भन्ने कुरा प्रमाणित गरेको विश्लेषण भइरहेको छ । नेकपा प्रचण्ड–नेपाल समुह सर्वोच्चको निर्णय जनताको जित रहेको भन्दै लड्डु बाँडदै खुसहाली मनाइ रहेको छ भने ओली समुह पनि स्र्वोच्चको आदेशलाई अस्वीकार गर्न सकेको छैन् ।
ओली समुहको प्रवक्ता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सर्वोच्चको आदेश स्वीकार गर्ने बताइसकेको छ किनकी संसद पुर्नस्थापनाको पक्षमा जनता र देशको मिडिया पनि थियो । संसद विघटनको विरुद्वमा भएको राजनितिक दल देखि उनका भातृ संगठन मात्र नभई नागरिक अगुवा देखि कलाकारको सडक नाटक सम्मको दबाबलाई मिडिलाले सम्प्रेषण गर्दा स्र्वोच्च आदालतलाई आत्मबल पुगेको र दबाब प्रभावबाट बाहिर रहन सफल भएको तर्क पनि गलत नहोला ।
प्रधानमन्त्री ओलीले संसद पुर्नस्थापना हुन्छ भन्ने भने संकेत पाइसकेको सुचना समेत मिडियाले दियो आज त्यो पनि सार्थक सावित भयो । संसद विघटन देखि हिजो मात्रको प्रधानसेनापती र प्रधानन्यायधिश बिचको भेटघाट सम्मलाई यर्थात विश्लेषण गरेको नेपालको मिडियाले पुनः एक पटक जनताको पहरेदारको काम गरेको छ ।
चुनावकै पक्षमा जान खोजेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवालाई ब्यालेन्स गर्नु देखि पुर्वराजा पक्षधर कमल थापा सम्मलाई संविधानको पक्षमा बोल्न बाध्य बनाएर मिडियाले एक सफल दबाबमुलक पहरेदारको काम गरि संविधानको पक्षमा वातावरण बनाएको छ । जनकपुरधाममा ओलीकै एक नेताले म स्तम्भकारलाई अदालतको फैसला प्रति बधाई दिदै भने, ‘जित हार आफनो ठाँउमा छ पत्रकार जी तर देशमा कानुन र न्याय छ भन्ने आशा जागेकै हो ।’
ओली समुहका सो नेताको तर्क र मुहारले प्रधानमन्त्री ओली कति सम्म एकल निर्णय लिन सक्छ भन्ने कुरा प्रष्ट गरिरहेको थियो । ओली सरकारका मन्त्रीहरु आफुसंग सम्पर्कमा रहेको नेकपाका अर्का अध्यक्ष प्रचण्डको तर्क ति नेताको खुसीले समेत प्रमाणित गरिरहेको थियो । ओलीले अवसर र सुरक्षा प्रदान गरेकै कारण उनी निकटका नेताहरु उनको पक्षमा मौन भएर बसेको विश्लेषण भने मौन छैन व्यापक छ ।
नाम उल्लेख नगर्ने सर्तमा ओली सरकारकै मन्त्री परिषदका पुर्व एक मन्त्रीले समेत म स्तम्भकारलाई प्रधानमन्त्री ओली सनको भरमा गल्ती गरेको अफ द रेकर्ड स्वीकार गरिसकेको रहेछ । तर पनि प्रधानमन्त्री ओलीको आत्मवल, मुहारको रौनक र भाषणको शैलीमा कुनै परिवर्तण नहुनु भने ओलीको साहसिक व्यक्तित्वको रुपमा चर्चा पाइरहेकै छ ।
देशमा फरक किशिमको निर्णय लिएर कुनै पनि बेला देश र जनतालाई आश्चर्य चकित पार्न सक्ने व्यक्तित्व प्रधानमन्त्री ओली अव के गर्छन ? यो भने पुनः व्यापक उत्सुकताको विषय बनेको छ । कतिपयले नैतिकताको आधारमा राजिनामा गर्नु उपयुक्त भनिरहेका छन भने कतिपयले यति गरि सकेपछि अव पछाडि फर्कन नहुने तर्क विर्तक जारी छ ।
अव हेर्न वाँकी छ नेपालको संविधान २०७२ निर्माणमा अहम भुमिका खेलेका प्रधानमन्त्री ओली संविधानलाई टेकेर आएको न्यायालयको यो फैसला स्वीकार गर्छन या त फेरी पनि देश र जनतालाई चकित पार्ने कुनै काम गर्छन ।





