कल्पना यादव
जनकपुरधाम : कोरोनाभाइरस ‘कोभिड–१९’ का कारण विश्वभर ३ हजार ४ सय ८ जनाको ज्यान गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोग तथा अन्तर्राष्ट्रिय तथ्यांकअनुसार शुक्रबारसम्म ३ हजार ४ सय ८ को ज्यान गइसकेको छ । विश्वभर यस भाइरसबाट संक्रमितको संख्या १ लाख पुगिसकेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसका १ लाख ३ सय ७ जना संक्रमित छन् ।
चीनपछि कोरोनाबाट सबैभन्दा बढी दक्षिण कोरियामा शुक्रबारसम्म संक्रमितको संख्या ६ हजार ५ सय ९३ पुगेको छ । त्यहाँ ४२ को मृत्यु भइसकेको छ । यस्तै चीनपछि कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र इटाली र इरान हो । त्यहाँ क्रमशः १ सय ४८ र १ सय २४ को मृत्यु भएको छ ।
इटालीमा ३ हजार ८ सय ५८ कोरोनाबाट संक्रमित छन् भने इरानमा ४ हजार ७ सय ४७ संक्रमित छन् । कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै विभिन्न राष्ट्रले कोरोना संक्रमित राष्ट्रमा भ्रमण प्रतिबन्ध लगाएका छन् । विभिन्न मुलुकले पठनपाठन नै ठप्प पारेका छन् ।
विश्व स्वास्थ्य संगठनले भीड र समूहमा नबस्न सुझाव दिएको छ । हात समय–समयमा धुन आग्रह गरेको छ । हालसम्म ५५ हजार ९ सय ८८ जना कोरोनाको उपचारपछि स्वस्थ बनेको बताइएको छ । गत डिसेम्बर महिनाको अन्तिममा चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको यो भाइरसको संक्रमण हालसम्म ९० भन्दा बढी देशमा फैलि सकेको छ ।