एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१:
शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मधेस प्रदेशमा कार्यक्रम सम्पन्न गरेको छ।
जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुपमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाबाट शिक्षा क्षेत्रका २११ जना सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय शिक्षा महाशाखा प्रमुख शिव सापकोटा, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा अभियन्ता अभिषेक घिमिरेलगायतको सहभागिता थियो।
कार्यक्रममा शिक्षक, प्रधानाध्यापक, अभिभावक तथा शिक्षा क्षेत्रका अगुवाहरूले विद्यालय शिक्षासँग सम्बन्धित व्यावहारिक समस्या, शिक्षक तथा विद्यालयका आवश्यकता र सुधारका उपायबारे सुझाव प्रस्तुत गरेका थिए।
शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झाले आगामी शिक्षा ऐनमा विद्यालय तहका व्यावहारिक समस्या, शिक्षक तथा विद्यालयका आवश्यकता र स्थानीय समुदायको भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव आएको बताए। उनले नयाँ शिक्षा ऐन समयसापेक्ष हुनुका साथै भौगोलिक अवस्था र सामाजिक परम्परालगायतका विषयलाई ध्यानमा राखेर निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।
प्रधानाध्यापक एसोसिएसन नेपाल मधेसका अध्यक्ष संजय झाले विद्यालय शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार तथा विद्यालय विकासमा समुदायको अपनत्व र सहभागिता बढाउने विषयमा सरोकारवालाले सुझाव दिएको जानकारी दिए।
मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको जनाएको छ।