एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८:
जनकपुरधामस्थित सिया मेडिकेयरले आकस्मिक उपचारदेखि शल्यक्रिया, ट्रमा, प्रसूति तथा सघन उपचारसम्मका स्वास्थ्य सेवा विस्तार गरेको छ।
अस्पतालका सञ्चालक राजीव झाका अनुसार मेडिकेयरमा आठ शय्याको आकस्मिक (इमरजेन्सी) सेवा, सर्जरी, ट्रमा, प्रसूति, आईसीयू तथा एनआईसीयू सेवा सञ्चालनमा ल्याइएको हो। यसअघि अस्पतालबाट बहिरङ्ग सेवा (ओपीडी), अल्ट्रासाउन्ड तथा प्रयोगशाला सेवा सञ्चालन हुँदै आएको थियो।
सेवा विस्तारसँगै आकस्मिक अवस्थामा तत्काल उपचार आवश्यक पर्ने बिरामी, शल्यक्रिया तथा प्रसूति सेवा लिनुपर्ने बिरामीका साथै सघन उपचार आवश्यक पर्ने बिरामीलाई जनकपुरधाममै उपचार उपलब्ध गराउने लक्ष्य राखिएको सञ्चालक झाले बताए।
उनका अनुसार आगामी दिनमा डायलाइसिस तथा न्युरो ट्रमालगायत थप विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारीसमेत गरिएको छ। जटिल अवस्थाका बिरामीलाई उपचारका लागि अन्य शहरमा रेफर गर्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले अस्पतालको सेवा तथा पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
‘जनकपुरधाममै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराएर बिरामीलाई बाहिर रेफर गर्नुपर्ने अवस्था कम गर्ने हाम्रो लक्ष्य हो,’ झाले भने।
अस्पतालले सेवा विस्तारसँगै आकस्मिक, शल्यक्रिया, प्रसूति तथा सघन उपचारका क्षेत्रमा थप सुविधा उपलब्ध गराउने जनाएको छ। स्थानीयस्तरमै विशेषज्ञ तथा सघन स्वास्थ्य सेवा विस्तार हुँदा जनकपुरधाम र आसपासका बिरामीलाई उपचारका लागि अन्य शहर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।