एसपी रिपोर्टर
जनकपुरधाम, असार ३२ :
मधेश प्रदेश सभाको समन्वयमा जनकपुरधाममा संसदीय प्रक्रिया तथा अभ्याससम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
‘संसदीय पहुँच प्रवर्द्धन तथा सार्वजनिक सुनुवाइ परियोजना’ अन्तर्गत पिपल प्रोमोट सेन्टरको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संसद सहयोग परियोजनाको सहयोगमा आयोजित कार्यक्रममा धनुषा, महोत्तरी र सर्लाहीका सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी शिक्षकलाई संसदीय व्यवस्था, विधि निर्माण प्रक्रिया, प्रदेश सभाको भूमिका, सार्वजनिक सुनुवाइ तथा नागरिक सहभागितासम्बन्धी विषयमा जानकारी गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सभा सभामुख रामआशिष यादवले लोकतान्त्रिक शासन व्यवस्थामा संसदको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया, संसदीय समितिको कार्य, जनप्रतिनिधिको जिम्मेवारी तथा नागरिक सहभागिताबारे विद्यार्थीलाई सही जानकारी दिन शिक्षकको भूमिका प्रभावकारी हुने उल्लेख गरे।
पिपल प्रोमोट सेन्टरका अध्यक्ष कमलेशकुमार मण्डलले संसदीय अभ्यास र लोकतन्त्रप्रति शिक्षक तथा विद्यार्थीमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार पहिलो चरणमा धनुषा, महोत्तरी र सर्लाहीका ३० जना सार्वजनिक विद्यालयका शिक्षक सहभागी भएका छन्। आगामी चरणमा विद्यालयस्तरमै शिक्षक र विद्यार्थीलाई समेटेर यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
सहभागी शिक्षकहरूले कार्यक्रमले संसदीय प्रणाली, कानुन निर्माण प्रक्रिया र प्रदेश सभाको कार्यप्रणालीलाई व्यवहारिक रूपमा बुझ्न महत्वपूर्ण अवसर प्रदान गरेको प्रतिक्रिया दिएका थिए।





