एसपी रिपोर्टर
जनकपुरधाम, असार २७ :
जनकपुरधाम उपमहानगरपालिका १९ बेङ्गामा सञ्चालित लक्ष्मी प्रशोधित पानी उद्योगबाट उत्पादन गरिएको पिउने पानीका केही बोतलमा उत्पादन मिति र उपभोग्य म्याद (एक्सपायरी डेट) उल्लेख नभएको भेटिएको छ। मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्यजन्य वस्तुमा देखिएको यस्तो लापरबाहीप्रति उपभोक्ता तथा सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
जनकपुरधाम ४ स्थित एक होटल सञ्चालकले खरिद गरेको दुई कार्टुन पानीमध्ये सिलप्याक गरिएका ६ वटा बोतलमा उत्पादन मिति वा उपभोग्य म्यादमध्ये कुनै पनि विवरण उल्लेख नभएको पाइएको हो। बजारमा बिक्रीका लागि पठाइएका यस्ता बोतलले उद्योगको गुणस्तर नियन्त्रण तथा लेबलिङ प्रक्रियामै कमजोरी रहेको उपभोक्ताको आरोप छ।
नेपालको प्रचलित कानुनअनुसार खाद्य तथा पेय पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दा उत्पादन मिति, उपभोग्य म्याद, ब्याच नम्बर तथा उत्पादकको विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था छ। तर, बजारमा पुगेका केही बोतलमा यी आधारभूत विवरण नै नहुँदा उपभोक्ताले पानी कहिले उत्पादन भएको हो वा कति समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न मिल्ने हो भन्ने जानकारी पाउन सकेका छैनन्।

उद्योगका सञ्चालक अजय साहले भने यो नियोजित नभई लेबलिङ गर्ने क्रममा कर्मचारीबाट भएको त्रुटि हुन सक्ने बताएका छन्। उनले विषयमा आवश्यक छानबिन गरी सुधार गरिने प्रतिक्रिया दिएका छन्।
यद्यपि, उपभोक्ताहरूले मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित वस्तुमा यस्तो कमजोरीलाई सामान्य त्रुटिका रूपमा लिन नसकिने बताएका छन्। स्थानीय सुभाष कर्णले प्रशोधित पानी गुणस्तरीय र सुरक्षित हुने विश्वासका आधारमा उपभोक्ताले खरिद गर्ने भएकाले उत्पादनसम्बन्धी आधारभूत जानकारीसमेत नहुनु गम्भीर लापरबाही भएको बताए।
खाद्य सुरक्षा तथा गुणस्तरका जानकारहरूका अनुसार उत्पादन मिति र उपभोग्य म्याद उल्लेख नभएका खाद्य तथा पेय पदार्थको गुणस्तर र सुरक्षाबारे उपभोक्ताले यकिन गर्न सक्दैनन्। यसले दूषित वा लामो समयअघि उत्पादन भएका वस्तु उपभोग हुने जोखिमसमेत बढाउने उनीहरूको भनाइ छ।
स्थानीय उपभोक्ताले बजारमा यस्ता उत्पादन कसरी पुगे, उद्योगको गुणस्तर परीक्षण तथा सरकारी अनुगमन प्रभावकारी छ कि छैन भन्ने विषयमा प्रश्न उठाएका छन्। उनीहरूले सम्बन्धित निकायले उद्योगको उत्पादन प्रक्रिया, लेबलिङ प्रणाली तथा बजारमा पुगेका उत्पादनको तत्काल निरीक्षण गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
उपभोक्ता अधिकारकर्मीहरूले पनि खाद्य प्रविधि तथा गुण नियन्त्रणसँग सम्बन्धित निकायको नियमित र प्रभावकारी अनुगमन अभावकै कारण यस्ता लापरबाही दोहोरिने गरेको उल्लेख गर्दै यस घटनाले समग्र खाद्य सुरक्षा प्रणाली र नियामक निकायको प्रभावकारितामाथि समेत प्रश्न उठाएको बताएका छन्।