एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ :
प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरस्थित एक सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त प्रोग्रेसिभ फाइनान्स लिमिटेडले कपिलेश्वरस्थित सामुदायिक आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय झोला, शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरेको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष रामचन्द्र पजियारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा यस्ता सहयोगले सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले वडाको एकमात्र आधारभूत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न भौतिक पूर्वाधार विस्तार, शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यार्थी संख्या बढाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
प्रोग्रेसिभ फाइनान्स लिमिटेडका मधेश प्रदेश प्रमुख विनयकुमार साहले संस्थाले मधेश, बागमती, गण्डकी र कोशी प्रदेशका २७ शाखामार्फत प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको बताए। सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारमा टेवा पुर्याउने उद्देश्यले यस्ता सामग्री वितरण गरिएको उनले बताए।
विद्यालयका प्रधानाध्यापक गौरीशंकरलाल कर्णले प्राप्त सामग्रीले विद्यालयको शैक्षिक वातावरण थप सुदृढ बनाउनका साथै विद्यार्थीहरूको मानसिक र शारीरिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो मुनाफाको निश्चित हिस्सा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा लगानी गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि यसको प्रभावकारी कार्यान्वयनबारे बेला–बेलामा प्रश्न उठ्ने गरेको छ। यस्तो अवस्थामा प्रोग्रेसिभ फाइनान्सले सामुदायिक विद्यालयलाई लक्षित गर्दै गरेको सहयोगलाई स्थानीयस्तरमा सकारात्मक पहलका रूपमा हेरिएको छ।





