एसपी रिपोर्टर
जनकपुरधाम, असार २३ :
श्रम तथा रोजगार कार्यालय जनकपुरधामले निजी व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था तथा अस्पतालहरूमा श्रमसम्बन्धी कानुनको कार्यान्वयन अवस्था अनुगमनलाई तीव्रता दिएको छ। पछिल्लो समय कार्यालयले विशेष रूपमा जनकपुरधामका निजी अस्पतालहरूमा श्रम ऐनको पालना भए/नभएको विषयमा निगरानी बढाएको हो।

मंगलबार जनकपुरधाम १ स्थित धनुषा अस्पतालमा गरिएको अनुगमनका क्रममा कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाए–नपाएको, रोजगार सम्झौता गरिएको अवस्था, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा श्रम ऐनको कार्यान्वयनबारे जानकारी संकलन गरिएको कार्यालयका निमित्त प्रमुख रञ्जित यादवले जानकारी दिए।

उनका अनुसार अनुगमनका क्रममा अस्पताल व्यवस्थापन र कर्मचारीसँग छुट्टाछुट्टै छलफल गरी श्रमिक अधिकारको वास्तविक अवस्था बुझ्ने गरिएको छ। अनुगमनका क्रममा कमजोरी वा कानुन उल्लंघन भेटिएमा पहिलो चरणमा सचेत गराइने, आवश्यक निर्देशन दिइने र अटेर गरे कानुनी कारबाहीका लागि सिफारिस गरिने व्यवस्था रहेको उनले बताए।

यसअघि जनकपुरधामस्थित काव्या अस्पतालमा पनि यस्तै अनुगमन गरिएको थियो। कार्यालयका अनुसार हालसम्मको अनुगमनमा केही निजी प्रतिष्ठानले कर्मचारीलाई सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नदिएको, रोजगार सम्झौता नगरी काममा लगाएको तथा सामाजिक सुरक्षा कोषबारे पर्याप्त जानकारी र आबद्धता नभएको अवस्था फेला परेको छ।

कार्यालयले अनुगमनलाई कानुनी निगरानीमा मात्र सीमित नराखी श्रमिक र रोजगारदाताबीच श्रम अधिकार तथा कानुनी दायित्वबारे सचेतना अभिवृद्धि गर्ने अभियानका रूपमा समेत अघि बढाएको जनाएको छ।
श्रम तथा रोजगार कार्यालयले जनकपुरधाममा मात्र नभई धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरी जिल्लाका निजी प्रतिष्ठानहरूमा पनि नियमित रूपमा अनुगमन जारी राख्ने जनाएको छ।