एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ :
राजर्षि जनक विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. श्यामनारायण लाभले सोमबार पदभार ग्रहण गरेका छन्।
जनकपुरधामस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। यस अवसरमा निवर्तमान उपकुलपति प्रा.डा. विद्यासागर बर्मा, निमित्त रजिष्ट्रार प्रा.डा. बलराम झा, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।
पदभार ग्रहणपछि बोल्दै उपकुलपति लाभले शिशु अवस्थामै रहेको राजर्षि जनक विश्वविद्यालयलाई राष्ट्रियस्तरमा स्थापित शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए।
उनले विश्वविद्यालयको समग्र विकासका लागि शिक्षक, कर्मचारी तथा विद्यार्थी सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै साझा प्रयासबाट विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे।
पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
जनकपुरधाम–१०, देवीचोक निवासी प्रा.डा. लाभ जीवन विज्ञानका प्रतिष्ठित वैज्ञानिक, अनुसन्धानकर्ता तथा शिक्षाविद् हुन्। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत अस्कल क्याम्पसमा लामो समय प्राध्यापन गरेका छन्। प्राणीशास्त्रअन्तर्गत एक्वाकल्चर न्यूट्रिसन विषयमा विद्यावारिधि गरेका लाभले शिक्षा तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।
राजर्षि जनक विश्वविद्यालय ऐन, २०७४ को दफा २४ को उपदफा (३) बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिले उनलाई असार १९ गते उपकुलपतिमा नियुक्त गरेका थिए।





