एसपी रिपोर्टर
जनकपुरधाम, असार २२ :
जनकपुरधाम उपमहानगरपालिका ५ ले एकल महिलाहरूलाई सम्मान गर्दै गर्मी मौसममा स्वच्छ तथा चिसो पिउने पानीको पहुँच सहज बनाउन पानी फिल्टर वितरण गरेको छ।
वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा एकल महिलाहरूलाई सम्मानसहित पानी फिल्टर हस्तान्तरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ५ का वडाध्यक्ष बेचन साहले महिला तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू वडाले निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

वडाध्यक्ष साहले सामाजिक रूपमा पछाडि परेका तथा विशेष संरक्षण आवश्यक भएका समुदायलाई प्राथमिकतामा राखेर विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन भइरहेको बताउँदै महिला सशक्तीकरण र सामाजिक सुरक्षालाई वडाको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको जानकारी दिए।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले वडा कार्यालयको एकल महिला सम्मान तथा पानी फिल्टर वितरण कार्यक्रमको प्रशंसा गर्दै महिला लक्षित कार्यक्रमसँगै युवाहरूको क्षमता अभिवृद्धि, सीप विकास तथा स्वरोजगार प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गर्न सुझाव दिए।

कार्यक्रममा वडा नं. ५ का पूर्व वडाध्यक्ष लक्ष्मी साह, समाजसेवी जगन्नाथ साह, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा वडावासीहरूको उपस्थिति रहेको थियो। वडा कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत महिला, ज्येष्ठ नागरिक तथा अन्य लक्षित वर्गका लागि यस्ता कल्याणकारी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।