एसपी रिपोर्टर
जनकपुरधाम, असार २० :
सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा स्थानीय सरकार र नीति निर्माण तहबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) मधेश प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय सम्मेलन शनिबार जनकपुरधाममा सम्पन्न भएको छ।
‘सार्वजनिक शिक्षा रूपान्तरणमा विद्यालय नेतृत्व, स्थानीय सरकार र नीति निर्माणमा साझेदारी’ विषयक सम्मेलनमा मधेश प्रदेशका विभिन्न जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका विज्ञ, स्थानीय तहका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले विद्यार्थीहरूको सिकाइ उपलब्धि अपेक्षाअनुसार हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, प्रधानाध्यापक र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले विद्यार्थीलाई शैक्षिक उपलब्धिसँगै सीप, मानसिक तथा शारीरिक रूपमा पनि सक्षम बनाउन सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा जोड दिए।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदान प्रसाद गौतमले नेपालमा शिक्षाले राज्यको प्राथमिकता प्राप्त गर्न नसकेको गुनासो गरे। उनले शिक्षा क्षेत्रमा पर्याप्त लगानी र प्रभावकारी नीति कार्यान्वयनका लागि सरकारलाई निरन्तर दबाब दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै विकसित मुलुकहरूले शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेको बताए। शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता आधारभूत सेवाको सुनिश्चितता राज्यको दायित्व भएको उनको भनाइ थियो।


एसोसिएसनका मधेश प्रदेश अध्यक्ष संजय झाको अध्यक्षतामा सम्पन्न सम्मेलनमा सार्वजनिक शिक्षाको गुणस्तर सुधार, विद्यालय नेतृत्वलाई प्रभावकारी बनाउने उपाय, स्थानीय सरकारसँगको सहकार्य तथा शिक्षा नीति कार्यान्वयनका चुनौती र समाधानका विषयमा व्यापक छलफल भएको थियो।
सहभागीहरूले विद्यालय नेतृत्व सुदृढ भए मात्र सार्वजनिक शिक्षामा अपेक्षित सुधार सम्भव हुने धारणा व्यक्त गरेका थिए। सम्मेलनमा सामुदायिक विद्यालयहरूले अपनाएका सफल अभ्यासहरू पनि प्रस्तुत गरिएको थियो।