एसपी रिपोर्टर
जनकपुरधाम, असार १९ :
मधेश प्रदेशमा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको भूमिका सुदृढ गर्ने उद्देश्यले सञ्चार तथा पैरवीसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रदेशको स्वास्थ्य अवस्थाबारे समीक्षा गर्दै जनस्वास्थ्यका चुनौती न्यूनीकरणमा सञ्चार क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याइएको थियो।
कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, कुपोषण, सरुवा तथा नसर्ने रोगको बढ्दो जोखिम, स्वास्थ्य सेवामा पहुँचको असमानता, जनचेतनाको अभाव तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाले भोगिरहेका समस्याबारे छलफल गरिएको थियो। सहभागीहरूले यस्ता चुनौती समाधानका लागि सञ्चार माध्यमले तथ्यपरक सूचना प्रवाह गर्दै जनचेतना अभिवृद्धिमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले स्वास्थ्य क्षेत्रको सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्यलाई उच्च प्राथमिकता दिइएको जानकारी दिए। उनले बजेटसँगै योजनाको प्रभावकारी कार्यान्वयन र उपलब्ध स्रोत साधनको सदुपयोगमा सरकार केन्द्रित रहने बताए।
मन्त्रालयका सचिव डा. प्रमोद यादवले संविधानले स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै मधेश प्रदेशमा स्वास्थ्य सेवा संविधान, राष्ट्रिय स्वास्थ्य नीति तथा प्रचलित कानुनी व्यवस्थाअनुसार सञ्चालन भइरहेको बताए।
कार्यक्रममा स्वास्थ्य प्रवर्द्धनका रणनीति, जनस्वास्थ्यका प्रमुख चुनौती, सञ्चार माध्यममार्फत प्रभावकारी पैरवी गर्ने उपाय तथा स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषणका मापदण्डबारे प्रस्तुति तथा अन्तरक्रिया पनि गरिएको थियो।