एसपी रिपोर्टर
जनकपुरधाम, असार १९ :
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले धनुषाका होटल तथा रेष्टुरेन्टमा सञ्चालन गरिरहेको खाद्य स्वच्छता अनुगमन अभियानलाई थप प्रभावकारी बनाएको छ। असार १५ गतेदेखि सुरु भएको अभियानको नेतृत्व गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले गरिरहेका छन्।
मन्त्रालयका अनुसार हालसम्मको अनुगमनमा खाद्य सुरक्षा तथा उपभोक्ता संरक्षणसम्बन्धी मापदण्ड उल्लंघन गर्ने पाँच होटल तथा रेष्टुरेन्टलाई करिब दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमनका क्रममा लक्ष्मीनियास्थित बाबाको ढाबालाई ३५ हजार रुपैयाँ, ढल्केबरस्थित द रोयल सम्राटलाई ५ हजार रुपैयाँ, जनकपुरधामस्थित बाजेको सेकुवालाई ७५ हजार रुपैयाँ, बर्गर हाउसलाई ३५ हजार रुपैयाँ, राजु होटललाई ४० हजार रुपैयाँ तथा पुरानो नवरङ्ग होटललाई ४० हजार रुपैयाँ जरिवाना गरिएको मन्त्री महतोले जानकारी दिए।
मन्त्रालयले जिल्लाका एक दर्जनभन्दा बढी होटल तथा रेष्टुरेन्टमा खाद्य पदार्थको गुणस्तर, सरसफाइ, भण्डारण व्यवस्था, सेवा प्रवाह तथा उपभोक्ता अधिकारसम्बन्धी मापदण्डको स्थलगत निरीक्षण गरेको जनाएको छ। निरीक्षणका क्रममा केही व्यवसायमा सरसफाइको कमी, खाद्य सामग्री असुरक्षित रूपमा भण्डारण गरिएको तथा खाद्य सुरक्षासम्बन्धी नियमको पूर्ण पालना नभएको पाइएको छ।
अनुगमन टोलीले कमीकमजोरी देखिएका व्यवसायलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ। आगामी दिनमा पनि यस्ता त्रुटि दोहोरिए कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्री महतोले होटल तथा रेष्टुरेन्ट व्यवसाय उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले खाद्य स्वच्छता र सुरक्षासम्बन्धी सबै मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए। नियम उल्लंघन गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने र उपभोक्ताले सुरक्षित तथा गुणस्तरीय सेवा पाउने वातावरण सुनिश्चित गर्न यस्ता अनुगमनलाई नियमित रूपमा निरन्तरता दिइने उनले स्पष्ट पारे।





