एसपी रिपोर्टर
जनकपुरधाम, असार १७ :
एचआईभी संक्रमित व्यक्तिप्रति हुने लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय धनुषाले जनकपुरधाममा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा आयोजित कार्यक्रममा एचआईभी संक्रमित व्यक्तिको अधिकार, स्वास्थ्य सेवामा समान पहुँच, सामाजिक विभेद न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले एचआईभीसम्बन्धी भ्रम र गलत धारणाको अन्त्य गर्दै वैज्ञानिक तथ्यका आधारमा व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले जिल्लामा पछिल्लो समय एचआईभी संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले जनचेतना अभिवृद्धिका लागि यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार ग्रामीण क्षेत्रमा शिक्षा र सचेतनाको कमी तथा वैदेशिक रोजगारीमा जानेको संख्या बढी भएकाले संक्रमणको जोखिम पनि बढिरहेको छ।
उनले एचआईभी संक्रमितप्रति समाजमा अझै पनि विभेदपूर्ण दृष्टिकोण कायम रहेकाले त्यसको अन्त्यका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। जनकपुरधामका केही होटल तथा रेस्टुरेन्ट संक्रमण नियन्त्रणसम्बन्धी जनचेतना विस्तारका दृष्टिले चुनौतीपूर्ण क्षेत्रका रूपमा देखिएकाले आगामी दिनमा होटल तथा रेस्टुरेन्ट व्यवसायीसँग सहकार्य गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश दाहाललगायतले एचआईभी संक्रमित व्यक्तिको अधिकार संरक्षण, सम्मानजनक व्यवहार तथा विभेदरहित समाज निर्माणका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
स्वास्थ्य कार्यालय धनुषाले यस्ता अभिमुखीकरण कार्यक्रमले एचआईभी संक्रमित व्यक्तिप्रति हुने सामाजिक लाञ्छना र भेदभाव न्यूनीकरण गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न तथा सम्मानजनक व्यवहारको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।