एसपी रिपोर्टर
जनकपुरधाम, असार ६ :
मस्कुलोस्केलेटल अन्कोलोजी सोसाइटी अफ नेपाल (मोसन) को आयोजनामा जनकपुरधाममा एकदिने सतत् चिकित्सा शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा चिकित्सा क्षेत्रसँग आबद्ध पेशाकर्मीहरूको सहभागिता रहेको थियो।
हड्डी तथा मांसपेशीसम्बन्धी क्यान्सरको पहिचान, उपचार र व्यवस्थापनका नवीनतम विधिबारे केन्द्रित कार्यक्रममा विभिन्न विशेषज्ञहरूले आफ्नो अनुभव, अनुसन्धान तथा व्यावसायिक ज्ञान प्रस्तुत गरेका थिए। सहभागी चिकित्सकहरूले यस्ता शैक्षिक कार्यक्रमले चिकित्सकीय ज्ञान अद्यावधिक गर्न तथा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।
कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. देवनारायण साहले चिकित्सा विज्ञान निरन्तर परिवर्तनशील क्षेत्र भएकाले चिकित्सकहरू समयअनुकूल ज्ञान र सीपसँग अद्यावधिक रहन आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमले चिकित्सकहरूबीच अनुभव आदानप्रदानको अवसर सिर्जना गर्नुका साथै उपचार पद्धतिलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने उल्लेख गरे।
त्यस्तै, जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका सहप्राध्यापक तथा अस्पताल निर्देशक डा. अमित रञ्जन मिश्रले जनकपुरधाममा राष्ट्रियस्तरका विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा यस्तो कार्यक्रम आयोजना हुनु स्वास्थ्य क्षेत्रका लागि सकारात्मक उपलब्धि भएको बताए। उनले स्थानीय चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी नयाँ ज्ञान र अनुभव हासिल गर्ने अवसर पाएको उल्लेख गरे।
कार्यक्रममा सहभागी चिकित्सकहरूले मोसनप्रति आभार व्यक्त गर्दै आफ्नो ज्ञान, विशेषज्ञता र अनुभव साझा गर्न टाढाटाढाबाट जनकपुरधाम आएका विशेषज्ञ चिकित्सकहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए। उनीहरूले कार्यक्रमबाट प्राप्त ज्ञानले चिकित्सकीय अभ्यासलाई थप प्रभावकारी बनाउन, चिकित्सकहरूबीच सहकार्यको वातावरण सुदृढ गर्न तथा बिरामीको उपचार परिणाम सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।





