एसपी रिपोर्टर
जनकपुरधाम, असार ६ :
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनुषामा सप्ताहव्यापी सचेतना अभियान सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाको आयोजनामा असार ६ देखि १२ गतेसम्म सञ्चालन हुने अभियानको पहिलो दिन सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। ‘लागुऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं’ भन्ने नारासहित अभियानको उद्घाटन प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले गरेका थिए।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुइँटेलले लागुऔषधको समस्या समाजकै साझा चुनौतीका रूपमा विकसित भइरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले लागुऔषधको बढ्दो प्रयोगका कारण विशेषगरी युवा पुस्ता बढी जोखिममा परेको भन्दै प्रशासन, सुरक्षा निकाय, परिवार, विद्यालय र समुदायबीच प्रभावकारी सहकार्य हुनुपर्नेमा जोड दिए।

पारिवारिक विखण्डन तथा कलहले पनि युवाहरूलाई लागुऔषधतर्फ आकर्षित गर्ने गरेको उल्लेख गर्दै उनले स्वस्थ सामाजिक र पारिवारिक वातावरण निर्माण गर्न आवश्यक रहेको बताए।
मधेश प्रदेश सरकारसँगको समन्वयमा अभियान सञ्चालन गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी लुइँटेलले यसलाई स्थानीय तह हुँदै वडा स्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको बताए।
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपेश खड्का, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलगायत सरकारी कार्यालय, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको धारणा राखेका थिए।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार अभियान अवधिभर जनचेतनामूलक अन्तरक्रिया, प्रचारप्रसार, विद्यालय केन्द्रित कार्यक्रम तथा अन्य सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछन्। अभियानमार्फत लागुऔषध दुरुपयोग, अवैध कारोबार तथा त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे नागरिकलाई जानकारी गराउने लक्ष्य राखिएको छ।
धनुषासहित मधेश प्रदेशका सीमावर्ती जिल्लाहरूमा लागुऔषधको समस्या बढ्दै गएको अवस्थामा सुरु गरिएको यस अभियानलाई सरोकारवालाले सकारात्मक तथा आवश्यक पहलका रूपमा लिएका छन्।





