एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ :
अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा जनकपुरधाममा विशेष योग शिविर आयोजना गरिएको छ। भारतको महावाणिज्य दूतावास, वीरगञ्ज, जानकी मन्दिर तथा जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार बिहान जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा योग शिविर सम्पन्न भएको हो।
आयोजकका अनुसार शिविरको उद्देश्य योगाभ्यासमार्फत स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नुका साथै शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउने र योगप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको छ।

कार्यक्रममा कृष्णप्रसाद यादव ले योगलाई दैनिक जीवनको अभिन्न अंगका रूपमा अपनाउन आग्रह गरे। उनले योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै पारिवारिक तथा सामाजिक सम्बन्धलाई समेत सुदृढ बनाउने भएकाले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको बताए।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीना ले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध ऐतिहासिक रूपमा गहिरो रहेको उल्लेख गर्दै योग दुवै देशको साझा सांस्कृतिक सम्पदाको प्रतीक भएको बताए। उनले योग नेपाल र भारतले विश्वलाई दिएको अनुपम उपहार भएको धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूलाई योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन तथा परिवार र साथीभाइलाई समेत योगप्रति जागरुक गराउन आग्रह गरिएको थियो।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव को अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामअशिष यादव, मनोजकुमार साह, योग प्रशिक्षक, विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेपछि विश्वभर विविध कार्यक्रम आयोजना हुँदै आएका छन्।







