एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ :
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवाडीस्थित जानकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा डायलेसिस सेवाको शुभारम्भ गरिएको छ। मृगौला रोगबाट पीडित बिरामीलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले पाँच शैय्याको डायलेसिस सेवा सञ्चालनमा ल्याएको हो।एक कार्यक्रमबीच क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादवले सेवाको औपचारिक उद्घाटन गर्दै यसबाट धनुषासहित आसपासका जिल्लाका मृगौला रोगीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।

उनले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले स्थानीय स्तरमै गुणस्तरीय उपचार सेवा विस्तार हुनु सकारात्मक उपलब्धि भएको बताए।
अस्पतालका हस्पिटल डाइरेक्टर अमितरञ्जन मिश्राले जनकपुरधाम तथा मधेशका विभिन्न जिल्लाका मृगौला रोगीहरू डायलेसिसका लागि अन्य शहर धाउन बाध्य भइरहेको अवस्थामा नयाँ सेवा सञ्चालन गरिएको जानकारी दिए। नियमित डायलेसिस आवश्यक पर्ने बिरामीले समयमै उपचार नपाउँदा थप स्वास्थ्य जटिलता भोग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

मिश्राले अस्पतालले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै अन्य स्वास्थ्य संस्थाको तुलनामा सुलभ शुल्कमा सेवा उपलब्ध गराउने निर्णय गरेको बताए। उनका अनुसार अस्पतालले प्रति पटक तीन हजार रुपैयाँमा डायलेसिस सेवा प्रदान गर्ने व्यवस्था गरेको छ, जसबाट आर्थिक रूपमा कमजोर बिरामीसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ।
मधेश प्रदेशमा मृगौला रोगका बिरामीको संख्या बढ्दै गइरहेका बेला स्थानीय स्तरमा डायलेसिस सेवा विस्तार हुनु स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसअघि धेरै बिरामी उपचारका लागि जनकपुरधाम बाहिरका अस्पताल जान बाध्य थिए। नयाँ सेवा सञ्चालनसँगै समय, खर्च र उपचार पहुँचका दृष्टिले बिरामीलाई सहजता हुने विश्वास गरिएको छ।
कार्यक्रममा अस्पतालका निमित्त प्रमुख रामबहादुर यादव, क्षिरेश्वरनाथ नगरपालिका १ का वडाध्यक्ष मकेश्वर यादव, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।